युरोपका ५ मुलुकमा प्रस्तुति दिँदै नेपथ्य, पहिलो कार्यक्रम लन्डनको वेम्बलीमा

Yangle News
Yangle News
२०८२ साउन ११ गते
युरोपका ५ मुलुकमा प्रस्तुति दिँदै नेपथ्य, पहिलो कार्यक्रम लन्डनको वेम्बलीमा

नेपथ्यले आगामी महिना युरोपको श्रृंखलाबद्ध सांगीतिक यात्रा गर्ने भएको छ । बेलायत, डेनमार्क, माल्टा, पोर्चुगल र बेल्जियममा नेपथ्यले कन्सर्ट गर्न लागेको हो ।

ब्यान्डले पहिलो प्रस्तुति अगस्ट ९ मा लन्डनको वेम्बलीमा दिनेछ । त्यसपछि अगस्ट २३, शनिबार डेनमार्कको राजधानी कोपेनहेगनमा ब्यान्ड प्रस्तुत हुनेछ । त्यहाँस्थित ‘पुलेन हल’मा ब्यान्डको कन्सर्ट तय भएको छ । कोपेनहेगन सहरमा नेपथ्यको दोस्रो प्रस्तुति हुन लागेको हो । यसअघि सन् २०१६मा ब्यान्डले कोपेनहेगनमा लोक-रक सुनाएको थियो ।

डेनमार्कपछि ब्यान्ड माल्टाको आटार्ड सहरमा उपस्थित हुनेछ । मुलुकको उत्तरी भेगमा पर्ने यस सहरको ‘माल्टा फेयर एन्ड कन्भेन्सन्स सेन्टर हल’मा अगस्ट २७, बुधबार नेपथ्यका गीतहरु गुन्जिनेछन् । त्यसपछि ब्यान्ड पोर्चुगलतर्फ प्रस्थान गर्नेछ । त्यहाँको राजधानी लिस्बनस्थित ‘लिस्बोआ आओ भिभो’मा अगस्ट ३१, आइतबार नेपथ्य प्रस्तुत हुनेछ ।

युरोप यात्राको अन्तिम प्रस्तुति भने बेल्जियमको एन्थ्रोपेन सहरमा हुनेछ । त्यहाँस्थित ‘एइडी स्टुडियोज कोस्टुडियो सेभेन’मा सेप्टेम्बर३ मा नेपथ्यको प्रस्तुति रहनेछ ।

यस यात्राका लागि व्यवस्थापक, प्राविधिक र कलाकारसमेत गरेर १४ सदस्यीय नेपथ्य टोली युरोप प्रस्थान गर्दैछ । मञ्चमा भने मुख्य गायक तथा अगुवा अमृत गुरुङलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाउनेछन् ।