भ्रष्टाचारको आरोप लागेका पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालसँग ३५ लाख रुपैयाँ धरौटी माग गरिएको छ ।
बुधबार विशेष अदालतमा भएको थुनछेक बहसपछि नेपालसँग सो धरौटी माग गरिएको हो । विशेष अदालतका न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले नेपाललाई धरौटी माग्ने आदेश गरेको हो । विशेष अदालतले गरेको म्याद तामेलीपछि नेपाल बुधबार बिहान आफैँ अदालतमा उपस्थित भएका थिए ।
नेपालको धरौटीका लागि ग्लोबल आइएमई बैंक ग्यारेन्टी बसिदिएको छ । नेपाल बैंक ग्यारेन्टी धरौटी बुझाएर अदालतबाट निस्किएका छन् ।
काभ्रेपलाञ्चोकमा पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीलाई जग्गा हदबन्दी छुट दिँदा १८ करोड ५८ लाख रुपैयाँ भ्रष्टाचार गरिएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २२ गते मुद्दा दायर गरेको हो । अख्तियारले पतञ्जली जग्गा हिनामिना प्रकरणमा नेपालसहित ९३ जनाविरूद्ध मुद्दा दायर गरेको थियो ।
२०६९ सालमै अख्तियारले पाँच वर्षमा क्षतिपूर्ति गर्ने भनिएको जग्गासम्बन्धी नियमित अनुगमन गर्न काभ्रे मालपोत कार्यालयलाई निर्देशन दिँदै उजुरी तामेलीमा राख्ने निर्णय गरेको थियो । त्यसको १३ वर्षपछि अख्तियारले नेपालविरुद्ध मुद्दा चलाउने निर्णय गरेको हो ।