एनपीएलको तयारी पूरा, विजेतालाई नगद १ करोड १० लाख

Yangle News
Yangle News
२०८२ कार्तिक २९ गते
एनपीएलको तयारी पूरा, विजेतालाई नगद १ करोड १० लाख

नेपाल क्रिकेट संघ (क्यान)ले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । सोमबारदेखि मंसिर २७ गतेसम्म हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको क्यानले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो ।

प्रतियोगिताका विजेता टोलीलाई पुरस्कारस्वरूप नगद एक करोड १० लाख प्रदान गरिनेछ । यसअघिको संस्करणमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको थियो । प्रतियोगिताको उपविजेता टोलीले भने ५१ लाख प्राप्त गर्नेछ । तेस्रो स्थान हासिल गर्नेले २५ लाख तथा चौथो हुनेले १५ लाख प्राप्त गर्ने क्यानले जनाएको छ ।

एनपीएलमा विभिन्न आठ फ्रेञ्चाइज टोली जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, चितवन राइनोज, कर्णाली याक्स, काठमान्डु गोर्खाज, विराटनगर किङ्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्स सहभागी हुनेछन् । उद्‌घाटन खेल जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच हुनेछ ।

३० देखि ४० करोड आम्दानीको अपेक्षा

दोस्रो संस्करणमा प्रत्येक दिन नौ हजार पाँच सय टिकट बिक्री गर्ने क्यानले जनाएको छ । प्रायोजक, टिकट बिक्री, ओटीटी प्रसारण अधिकार बिक्री लगायतबाट ३० देखि ४० करोड रुपैयाँसम्म आम्दानी गर्ने क्यानले जानकारी दिएको छ ।

सहभागी टोलीहरूबाट करिब नौ करोड रुपैयाँ जुटेको छ । यसैगरी, टिकट बिक्रीबाट कम्तीमा आठ करोडदेखि अधिकतम १२ करोड रुपैयाँसम्म उठाउने अनुमान गरिएको क्यानले जनाएको छ । यसका अतिरिक्त, मुख्य प्रायोजक र अन्य प्रायोजकबाट १५ करोड ३० लाख रुपैयाँ प्राप्त हुने बताइएको छ ।

पहिलो पटक ओटीटी प्लेटफर्म पनि क्यानले बेचेको छ । डिशहोमलाई ५ करोड ३० लाख रुपैयाँ ओटीटी अधिकार बेचेको क्यानले जनाएको छ । यो पटक स्टार स्पोर्ट्ससँगै नेपालको टेलिभिजनबाट पनि एनपीएल प्रत्यक्ष प्रसारण हुने भएको छ ।

Yangle News

‘फ्लड लाइट’मा खेल

प्रतियोगिताका कुल ३२ मध्ये २३ खेल ‘फ्लड लाइट’मा हुने क्यानले जनाएको छ । सार्वजनिक बिदाको अधिकांश दिनहरू दुई खेल हुनेछन् । पहिलो खेल पौने १२ बजे तथा दोस्रो खेल साढे ३ र ४ बजे हुने जनाइएको छ । यसअघि पहिलो संस्करणमा पहिलो खेल ९ तथा दोस्रो खेल १२ बजे भएको थियो ।

एनपीएलको समयमा कुनै पनि आन्दोलनका कार्यक्रम उपत्यकामा नगरिदिन क्यानले आग्रह गरेको छ ।