नेपाल अर्बुद रोग निवारण संस्थाको ४१औं वार्षिकोत्सब र गतिविधि

Yangle News
Yangle News
२०८० भदौ ३१ गते
नेपाल अर्बुद रोग निवारण संस्थाको ४१औं वार्षिकोत्सब र गतिविधि

 

नेपाल अर्बुद रोग निवारण संस्थाले आफ्नो वार्षिकोत्सबका अवसरमा क्यान्सर रोग विरुद्धको अभियानमा योगदान पुर्याएका दर्जन बढी व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ । काठमाडौँमा यसै साता आयोजित कार्यक्रममा सेरो ल्याब, यतिकेम, शुभगुरु गहना गृह, इभेन्ट सोलुसन, प्रेसिडेन्ट टुर्स एण्ड ट्राभल लगायत संस्थालाई प्रमाणपत्र सहित सम्मान गरिएको हो ।

Yangle News

कार्यक्रमका प्रमुख अतिथी सांसद तेजुलाल चौधरीले सूर्तीजन्य पदार्थमा कर बृद्धिका लागि आफूले बारम्बार सरकार तथा सदनको ध्यानाकर्षण गरे पनि सधै बेवास्ता गरिएको गुनासो गरे । साथै उनले क्यान्सर रोगसम्बन्धी जनचेतना र यसको हानी कम गर्ने काममा सरकार पनि गम्भीर बन्न जरुरी रहेको बताए ।

संस्थाका अध्यक्ष महेश श्रेष्ठले हाम्रो जस्तो विकाशोन्मुख देशहरुमा क्यान्सरका कारण मृत्युवरण गर्नेहरुको संख्या विकराल रहेको उल्लेख गर्दै यसको दर कम गर्न सरकार गम्भीर भएर लाग्नुपर्ने बताए । उनले निकट भविष्यमा संस्थाको बालकुमारीस्थित कार्यालय भवनमा अत्याधुनिक सुविधायुक्त क्यान्सर डाइग्नोष्टिक सेन्टर सञ्चालन गर्ने योजनाबारे जानकारी दिए । केन्द्रीय कार्यालय र आफ्ना ४५ जिल्ला शाखाद्वारा प्रदेश – स्थानीय सरकार तथा स्वास्थ्य क्षेत्रमा क्रियाशील अन्य संघसंस्थासँगको सहकार्यमा क्यान्सर रोगबारेको जनचेता फैलाउने अभियान निरन्तर सञ्चाल गरिरहेको श्रेष्ठले बताएका थिए ।

Yangle News

 

महासचिव दिपेन्द्र बान्तवाले नेपाल अर्बुद रोग निवारण संस्था क्यान्सर रोग विरुद्ध काम गर्ने मुलुकै जेठो संस्था भएकाले आगामी दिनमा यस सम्बन्धी काम गरिरहेका अन्य संघसंस्थासँग पनि सहकार्य गरेर अघि बढ्ने बताए ।

Yangle News

संस्थाले वार्षिकोत्सबको अघिल्लो दिन क्यान्सर सम्बन्धी जनचेतना जगाउन र अत्याधुनिक सुविधायुक्त क्यान्सर डाइग्नोष्टिक सेन्टर स्थापनार्थ कोष संकलनका लागि बृहत र्यालीको आयोजना गरेको थियो । नेपाल स्काउट, लायन्स क्लब, काठमाडौंमा रहेका रोटरी क्वबका विभिन्न च्याप्टर, विभिन्न चार वटा विद्यालयका विद्यार्थीहरु, विभिन्न व्यक्तित्वहरुले पदयात्रामा सहभागिता जनाएका थिए । खुलामञ्चबाट सुरु भएको र्याली सिंह दरबार, थापाथली, त्रिपुरेश्वर, टेकु, काष्ठमण्डप, न्युरोड गेट, दरबार मार्ग हुँदै खुलामञ्चमा आएर टुङ्गिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रीले उद्घाटन गरेको र्यालीपछि संस्थाले खुलामञ्चमै निशुल्क स्वास्थ्य परीक्षण, प्याप टेस्ट, सीबीसी टेस्ट तथा रक्तदान जस्ता कार्यक्रम गरेको थियो ।

नेपाल अर्बुद रोग निवारण संस्थाले बर्षभरी नै विभिन्न अवसर पारेर क्यान्सरसँग सम्बन्धीत विविध कार्यक्रमको आयोजना गर्दै आएको छ । विश्व क्यान्सर दिवस अर्थात फ्रेबुअरी ४ मा जनचेतनामूलक र्याली आयोजना गरेको थियो । सोहि दिन साँझ संस्थाले काठमाडौँको बौद्ध स्तुपा परिसरमा दीप प्रज्वलन कार्यक्रमको समेत आयोजना गरेको थियो ।

Yangle News

विश्व धुम्रपान रहित दिवसका अवसरमा नेपाल संस्थाले काठमाडौँ महानगरपालिका वडा नं.७ सँग मिलेर काठमाडौँको राष्ट्रिय सभा गृहमा विशेष कार्यक्रम गरेको थियो । कार्यक्रममा काठमाडौँ उपत्यकाका सामुदायिक विद्यालयका तीन सयबढी विद्यार्थीहरुलाई क्यान्सर रोग र यसको रोकथामका विषयमा अभिमूखीकरण दिइएको थियो ।

सोहि अवसरमा युवामाझ लोकप्रिय सामाजिक सञ्जाल टिकटक प्रतियोगिता आयोजना गरेको थियो । सुर्तिजन्य पदार्थ र यसको नकारात्मक प्रभावहरूबारे जनचेतना जगाउने उद्देश्यले मे ३१ मा पहिलो पटक टिकटक च्यालेन्ज कार्यक्रम गरिएको हो । संस्थाका महासचिव दिपेन्द्र वान्तवाको संयोजनमा रहेको छनोट समितिले जुन १, २०२३ मा विजेता घोषणा गरेको  थियो । जसमध्ये १० उत्कृष्ठ भिडियो निर्माणकर्ताले पुरस्कारस्वरुप प्रतिव्यक्ति २ हजार र प्रमाणपत्र प्राप्त गरेका थिए ।

दिवसकै अवसरमा ललिपुरको बालकुमारीस्थित गौरीशंकर विद्यालयमा सूर्तीजन्य पदार्थको प्रयोगले पार्ने हानिकारक प्रभावबारे अभिमूखीकरण गरेको थियो ।

त्यस्तै संस्थाले आफ्ना मुद्धाबारे जानकारी प्रवाहका लागि टेलिभिजनमा अन्तरक्रियात्मक कार्यक्रम र सांसदहरुसँग छलफल गरेको थियो ।

नेपाल अर्बुद रोग निवारण संस्थाले विभिन्न सरोकारवालाहरु, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अर्थ मन्त्रालयमा गएर सूर्तीजन्य पदार्थमा कर बृद्धिका लागि बारम्बार लबिङ गरिरहेको छ ।

Yangle News

 

536 views