एमाले महाधिवेशनका लागि आज देशभर प्रतिनिधि छनोट हुँदै

Yangle News
Yangle News
२०८२ मंसिर १३ गते
एमाले महाधिवेशनका लागि आज देशभर प्रतिनिधि छनोट हुँदै

११औं महाधिवेशनका लागि नेकपा (एमाले)ले आज देशैभरि प्रतिनिधि छनोट गर्दै छ । एमाले केन्द्रीय कार्यालयका अनुसार ११ मंसिरमा सबै निर्वाचन क्षेत्रमा प्रतिनिधि निर्वाचनका लागि उम्मेदवारी मनोनयन भएको छ ।

केही निर्वाचन क्षेत्रमा सहमति जुटेको छ । सहमति नजुटेका क्षेत्रहरूमा आज बिहान ८ बजेदेखि निर्वाचन भइरहेको छ । निर्वाचनको समयमा अधिकांस क्षेत्रमा दिउँसो २ बजेसम्म राखिएको छ । विभिन्न जिल्लाहरूले अनुकूलताअनुसार मतदानको समय तय गरेको केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

उनकाअनुसार संघीय निर्वाचन क्षेत्रबाट खुला, महिला, दलित तथा युवाहरूसहित करिब २ हजार प्रतिनिधि छनोट हुँदै छन् । यस्तै, प्रवास, जनसंगठन र विभागहरूबाट करिब १ सय प्रतिनिधि छनोट हुनेछन् । मनोनित एमालेको ११औं महाधिवशेनमा करिब २२ सय प्रतिनिधि सहभागी हुनेछन् । प्रतिनिधि छनोटका लागि केन्द्रीय संगठन विभागले सिफारिस गरेको प्रस्तावलाई पार्टी सचिवालयले यसअघि पनि पास गरेर मातहतका कमिटीमा पठाइसकेको छ ।

एमालेको १५ कात्तिकमा बसेको केन्द्रीय सचिवालय बैठकले गरेको निर्णयअनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्रलाई आधार मानेर प्रति १२०० सदस्य खुला दुई र महिला एक निर्वाचित गर्नुपर्नेछ । यसरी प्रतिनिधि छान्दा एक जना ४० वर्षभन्दा कम उमेरका युवा अनिवार्य हुनुपर्नेछ । यस्तै, प्रति ८०० सदस्य एक प्रतिनिधि, जसमा महिला निर्वाचित गर्ने विधि तय गरिएको गौतमले जानकारी दिए ।

दलितका लागि प्रति ५०० सदस्य एक प्रतिनिधि निर्वाचित गर्नुपर्ने विधि राखिएको छ । ट्रेड युनियनमा प्रदेशबाट सात जना प्रतिनिधि रहनेछन् । जनसंगठनबाट प्रतिजनसंगठन पाँच जनाको प्रतिनिधित्व रहनेछ । महासंघीय ढाँचामा रहेका जनसंगठनबाट भने ७ जनाको प्रतिनिधित्व रहनेछ ।

विभाग र कार्यालयबाट १–१ जनाको प्रतिनिधित्व रहनेछ । प्रवासबाट महादेशअनुसार ५ जनाको प्रतिनिधित्व रहनेछ। केन्द्रीय कमिटीबाट ३५४ जना स्वतः प्रतिनिधि हुनेछन् । त्यस्तै, अनुशासन आयोगबाट २९, लेखा आयोगबाट ३०, निर्वाचन आयोगबाट २५, सल्लाहकार परिषद्‌बाट २५ जना प्रतिनिधि रहनेछन् । यी कमिटीबाट जम्मा ४६४ जना स्वतः प्रतिनिधि हुनेछन् ।

एमालेको कुल संगठित सदस्य संख्या ६ लाख ६७ हजार ६३० सदस्यमध्ये प्रदेशबाट ४५, प्रतिनिधिसभाको निर्वाचन क्षेत्रबाट करिब ९७०, विशेष जिल्लाबाट ४७, दलितबाट ८१, ट्रेड युनियनबाट ४९, प्रवासबाट, केन्द्रीय विभाग र कार्यालयबाट, जनसंगठनसहित गरी अनुमानित १ हजार ९०० भन्दा बढी प्रतिनिधि रहनेछन् ।

५ प्रतिशत प्रतिनिधि केन्द्रीय कमिटीले मनोनयन गर्नेछ । यी सबै जोड्दा कुल २ हजार १०० भन्दा बढी प्रतिनिधि रहने अनुमान गरिएको छ । तर, सचिवालयको पछिल्लो निर्णयले केही प्रतिनिधि थप हुने गरी पार्टी सदस्य संख्याको अनुपात घटाइएको गौतमले जानकारी दिए । उनका अनुसार प्रतिनिधि छनोटको यो विधि सम्बन्धित कमिटीमा पठाइसकिएको छ ।