बडादशैं एवं नवरात्रको आठौं दिन दशैंघर वा पूजा कोठामा नौ दुर्गामध्येकी आठौं महागौरी देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । आजको दिन दशैंघर र कोतलगायत देशका विभिन्न शक्तिपीठमा बलिसहित पूजाअर्चना तथा दुर्गा सप्तशती पाठ गर्ने परम्परा छ ।
यस दिन मानिसहरूले आ-आफ्ना कुलदेवी, देवता र स्थानीय देवीदेवतालाई पूजी बलि दिन्छन् । सात्विकहरूले नरिवल, कुभिण्डो, केरा, घिरौँला, आदि फल अर्पण गर्दछन् । यसैगरी दशैंघर हनुमानढोकाको मूल चोकमा तलेजु भवानीलाई ५४ राँगा र त्यत्ति नै बोका बलि दिइन्छ । महाअष्टमी र महानवमी बीचको रातलाई कालरात्रि मानेर रातभरि गुप्तपूजा गरिन्छ ।
विशेषगरि आजका दिन पञ्चबलि दिने प्रचलन छ । पञ्च बलिमा बोका, राँगा, परेवा, हाँस र भेंडा पर्दछन् । तिनीहरूमा हुने बिक्रित काम, अंहकार, मोह, मद र लोभ जस्ता गलत प्रवृत्तिको बलि दिनुपर्ने भाव ग्रन्थहरूमा उल्लेख छ । यस्ता पशुत्व भाव हटाउन पञ्च बलिको प्रतिकात्मक उपाय निकालिएको कतिपयको भनाइ छ ।
महागौरी सेतो वृषभमाथि चढेकी, गोरो वर्णकी र श्वेतवस्त्र धारण गरेकी स्वरुपमा हुन्छिन् भनी पुराणलगायत विभिन्न शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । नवरात्रको पहिलो दिन असोज ६ गते सोमबार दशैंघर वा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो ।
नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् ।
नौ दिनसम्म पूजाआराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । दुर्गा पक्षसमेत भनिने दसैंको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गर्ने गरिन्छ । यिनै नौ दुर्गाका रूपलाई नवदुर्गा पनि भनिन्छ ।
नवरात्रमा देशभरका शक्तिपीठमा पूजाआराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ । यस अवसरमा काठमाडौं उपत्यका र बाहिरका शक्तिपीठमा भक्तजनको घुइँचो बढ्ने गरेको छ ।