नेपाल क्रिकेट संघ ( क्यान)ले मलेसियाविरुद्धको टी-ट्वान्टी सिरिजका लागि राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा गरेको छ ।
आज क्यानले सार्वजनिक गरेको खेलाडी सूचीअनुसार अनुभवी खेलाडी सीता राना मगरले टोलीमा पुनरागमन गरेकी छन् । सीता चोटका कारण लामो समय मैदान बाहिर थिइन् ।
यसअघिको टोलीमा ५ खेलाडी परिवर्तन गरिएको छ । यशोदा विष्टले पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाएकी छन् । पछिल्लो पटक ग्लोबल क्वालिफायर खेल्दाका ५ खेलाडीले यसपटक पटक टोलीमा छैनन् । विन्दु रावल, मनिषा उपाध्याय, सवनम राई, ईश्वरी विष्ट र रोमा थापा टोलीमा परेनन् । उनीहरूको ठाउँमा सीता र यशोदासँगै सोमु विष्ट, रचना चौधरी र सावित्रा धामीले राष्ट्रिय टोलीमा स्थान बनाएका छन् ।
नेपाल र मलेसिया महिला राष्ट्रिय क्रिकेट टोलीबीच असोज १६ देखि २२ गते (अक्टोबर २ देखि ८)सम्म टी-ट्वान्टी सिरिज हुनेछ । त्यसअघि असोज ८ देखि १४ गते (सेप्टेम्बर २४ देखि ३०)सम्म हुने मलेसियन सुपर वुमन्स सिरिजमा नेपाली टोलीका खेलाडीले ५ फरक-फरक टोलीबाट खेल्नेछन् ।
ग्लोबल क्वालिफायरको तयारीको लागि यो सिरिजमा नेपालले सहभागिता जनाउन लागेको हो ।
नेपाली टोली :
इन्दु बर्मा, पूजा महतो, राममति ऐरी, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विष्ट, रचना चौधरी, रुबी पोद्दार, यशोदा विष्ट, सावित्रा धामी,कविता कुँवर, रुविना क्षेत्री र सिता राना मगर ।