‘विशेष महाधिवेशनको औचित्य सकियो, पुसमा विशेष महाधिवेशन हुन्छ’

Yangle News
Yangle News
२०८२ पुस १८ गते
‘विशेष महाधिवेशनको औचित्य सकियो, पुसमा विशेष महाधिवेशन हुन्छ’

नेपाली कांग्रेसको १५औं महाधिवेशन वैशाखको अन्तिममा हुने भएको छ । आज केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बहुमतले यस्तो प्रस्ताव पारित गरेको हो । उक्त प्रस्तावसहित कांग्रेसले केन्द्रीय समितिसहित तल्ला तहका सबै समितिको म्याद सोही मितिसम्म थप गर्ने निर्णय गरेको हो ।

यो निर्णयमा कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित अर्जननरसिंह केसी, फरमुल्लाह मन्सुर र उमा रेग्मीले विमति राखेका थिए । कार्यसम्पादन समितिले पारित गरेको कार्यतालिकाअनुसार महाधिवेशनको नयाँ मिति वैशाखको २८ देखि ३१ सम्म हुनेछ ।

यसअघि पुस अन्तिममा महाधिवेशन गर्ने कार्यतालिका कांग्रेसले पारित गरेको थियो । त्यसका लागि कांग्रेसले गाउँ नगर वडा अधिवेशन-२०८२ चैत २१ गते, गाउँ नगर अधिवेशन-२०८२ चैत २५ गते गर्ने निर्णय गरेको छ । त्यसैगरी प्रदेशसभा क्षेत्रीय अधिवेशन-२०८२ चैत २८ गते, एकमात्र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन-२०८३ वैशाख २ गते, दुई वा दुईभन्दा बढी निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन-२०८३ वैशाख ५ गते गर्ने निर्णय भएको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । उनका अनुसार प्रदेश अधिवेशन-२०८३ वैशाख १०, ११ र १२ गते र केन्द्रीय महाधिवेशन-२०८३ वैशाख २८, २९, ३० र ३१ गते गर्ने निर्णय भएको छ ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले विशेष महाधिवेशनको औचित्य मंसिर १५ बाटै समाप्त भइसकेको बताएका छन् । केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महाधिवेशनको कार्यतालिका हेरफेर गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अहिले पार्टी १५औं महाधिवेशनमा प्रवेश गरिसकेको बताए । चुनावको कारणले यसअघिको कार्यतालिका प्रभावित भएको कारणले केही समय पर धकेलेको मात्रै उनले बताए । उनले बैठकमा केही नेताहरूले फरक मत राखेको पनि बताए ।

तर, महामन्त्री थापाले कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको महाधिवेशन आगामी वैशाखमा सार्न र जेठसम्म केन्द्रीय समितिको म्याद थप्न प्रस्ताव गरेको बताए । साथै आफूहरूको फरक मत हुँदाहुँदै बैठकबाट बहुमतले उक्त प्रस्ताव पारित भएको बताए ।

उनले महाधिवेशन वैशाखमा गर्ने भनिए पनि पुसमा विशेष महाधिवेशन हुने बताएका छन् । विधानले विशेष महाधिवेशन गर्नुको विकल्प नदिएको भन्दै थापाले गर्नैपर्ने बताए । थापाले अन्य कुरामा लागू भएको विधान विशेष महाधिवेशनको हकमा नलाग्ने भन्ने नहुने बताए । आज केन्द्रीय समितिले पुसभित्र महाधिवेशन नगर्ने निर्णय गरे पनि विशेष महाधिवेशन नगर्ने प्रस्ताव नआएको थापाको भनाई छ ।

विधानले अब विधान महाधिवेशन गर्नुको विकल्प नदिएको भन्दै थापाले केन्द्रको जिम्मेवार नेताहरूले विधानको पालना नगरे आफूहरूले टुलुटुलु हेरेर नबस्ने बताए । विधानले दिएको अधिकार प्रयोग गरी पुसभित्र विशेष अधिवेशन आयोजना गर्ने उनको भनाई छ । उनले पुसको मसान्तमा काठमाडौंमा विशेष महाधिवेशनमा आउने तयारी गर्न पनि आग्रह गरेका छन् ।