‘टप एन्ड टी-२० सिरिज’मा नेपालले लगातार हार

Yangle News
Yangle News
२०८२ साउन ३१ गते
‘टप एन्ड टी-२० सिरिज’मा नेपालले लगातार हार

अस्ट्रेलियामा जारी टप एन्ड टी-ट्वान्टी सिरिजमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । आज डार्विनस्थित मरारा क्रिकेट ग्राउण्ड-२ मा सम्पन्न खेलमा नेपाल बंगलादेश ‘ए’सँग ३२ रनले पराजित भएको हो ।

पहिलो खेलमा नेपाल स्थानीय क्लब नर्दर्न टेरिटोरी स्ट्राइकरसँग ४२ रनले पराजित भएको थियो । बंगलादेशको यो पहिलो जित हो । पहिलो खेलमा बंगलादेशले पाकिस्तान शाहीन्ससँग ७९ को हार बेहारेको थियो ।

बंगलादेशले प्रस्तुत गरेको १ सय ८७ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभर नै ब्याटिङ गरे पनि सात विकेट गुमाउँदै १ सय ५४ रन मात्र बनाउन सक्यो । नेपालका लागि कुशल मल्लले ४७ बलमा ६ चौका र एक छक्काको मद्दतले अविजित ५९ रनको योगदान गरे । यसैगरी आसिफ शेखले २८, लोकेश बमले १५, नन्दन यादवले अविजित १४, कुशल भुर्तेलले १२ र कप्तान रोहितकुमार पौडेलले १० रन बनाए । बंगलादेशका लागि राकिब उल हसनले तीन, हसन महमदले दुई तथा तुफ्याल अहमद र रिपोन मण्डलले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १ सय ८६ रनको योगफल तयार पारेको थियो । बंगलादेशका लागि जिसन आलमले ४६ बलमा पाँच छक्का र चार चौकाको मद्दतले सर्वाधिक ७३ रनको योगदान गरे । यसैगरी अफिफ हुसेनले अविजित ४८, मोहम्मद नइमले २५ र सइफ हसनले ११ रन बनाए । नेपालका लागि रिजन ढकालले दुई तथा करण केसी, नन्दन यादव र सन्दीप लामिछानेले समान एक विकेट लिए ।

अब नेपालले सोमबार मेलबर्न स्टार्स एकेडेमीको सामना गर्नेछ । चौथो खेलमा मंगलबार होबार्ट हुरिकेन्ससँग प्रतिस्पर्धा गर्नेछ। चौथो खेलमा अगस्ट २० मा मेलबर्न रेनेगेड्स र पाँचौ खेल अगस्ट २२ मा पाकिस्तानको शाहीन्स प्रतिस्पर्धा गर्ने तालिका रहेको छ । सिरिजमा ११ टोली सहभागी छन् ।