दक्षिणी लेबनानमा शान्ति सेनामाथि भएको आक्रमणको नेपाल सहित ३४ देशले गरे विरोध

Yangle News
Yangle News
२०८१ अशोज २९ गते
दक्षिणी लेबनानमा शान्ति सेनामाथि भएको आक्रमणको नेपाल सहित ३४ देशले गरे विरोध

 

दक्षिणी लेबनानमा रहेको शान्ति सेनाको बेसक्याम्पमा इजरायली सेनाले गरेको आक्रमणको नेपालसहित ३४ देशहरूले विरोध जनाएका छन् । संयुक्त राष्ट्र संघका अनुसार इजरायली सेना आइबार शान्ति सेनाको क्याम्पमा जबरजस्ती घुसपैठ गर्दै गोलाबारी गरेको थियो ।

संयुक्त राष्ट्र संघको अन्तरिम बलमा योगदान गर्दै आएको राष्ट्रका रुपमा नेपालले यूनिफिलको मिसन र गतिविधिप्रति समर्थन जनाएको छ । नेपालले यूनिफिलका शान्ति सैनिकमाथि भएको आक्रमणको भर्त्सना गर्दै सङ्घर्षरत पक्षलाई उनीहरूको सुरक्षाको ग्यारेन्टी गर्न आग्रह गरेको छ । साथै, यस्ता घटनाहरु तुरुन्त बन्द गर्नुपर्ने र यस घटनाको आवश्यक छानबिन गरिनुपर्ने नेपालले बताएको हो ।

यूनिफिल लेबनानका अनुसार आइतबार इजरायली सेनाको ट्याङ्कले मुख्य गेट तोडेर गोली चलाएको थियो जसका कारण शिविर धुवाँले भरिएको थियो । घटनामा १५ शान्ति सैनिकको शरिरका केही भागमा जलन र पेटसम्बन्धी समस्या भएको छ ।

यता, इजरायली सुरक्षा बलले भने आफ्ना घाइते सैनिकहरूलाई बाहिर निकाल्न युनिफिल पोजिशनमा प्रवेश गरेको बताएको छ । इजरायलले बारम्बार शान्ति सैनिकहरूलाई दक्षिणी लेबनानका क्षेत्रहरूबाट फिर्ता हुन आग्रह गर्दै आएको छ । यूनिफिलले अहिलेसम्म इजरायलका यी अनुरोधहरूलाई अस्वीकार गर्दै आएको छ।