मधेसमा मन्त्रिपरिषद् पुनर्गठन : नवनियुक्त दुई मन्त्रीले लिए सपथ

Yangle News
Yangle News
२०८२ जेष्ठ ९ गते
मधेसमा मन्त्रिपरिषद् पुनर्गठन : नवनियुक्त दुई मन्त्रीले लिए सपथ

मधेस सरकारमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

पुनर्गठित मन्त्रिषरिषद्मा जनमत पार्टीका तर्फबाट वसन्तकुमार कुशवाहा र सञ्जय यादवले मन्त्रीका रूपमा बिहीबार पद तथा गोपनीयताको शपथ लिएका हुन् । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बिहिबार साँझ आयोजित एक समारोहमा नवनियुक्त मन्त्रीद्वयलाई शपथ गराइन् । कुशवाहालाई उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ भने यादवले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

मुख्यमन्त्री सतिशकुमार सिंहको नेतृत्वमा मधेस सरकारको मन्त्रिपरिषद् पुनर्गठन भएको हो । नयाँ मन्त्रिमण्डलमा अब १२ सदस्यीय मन्त्री रहेका छन् । पुनर्गठित मन्त्रिपरिषद्को मुख्यमन्त्रीमा सतिशकुमार सिंह, गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखी, भौतिक पूर्वाधारमन्त्री सरोज यादव, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री जनार्दन सिंह क्षेत्री, शिक्षा तथा संस्कृतिमन्त्री रानी तिवारी, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधन सिंह, अर्थमन्त्री सुनिल यादव, खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवाल, ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादव, श्रम तथा यातायातमन्त्री कौशलकिशोर राय, उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री वसन्तकुमार कुशवाहा र वन तथा वातावरणमन्त्री सञ्जयकुमार यादव छन् ।

कुशवाहाले यसअघि पनि प्रदेश सरकारमा कृषिमन्त्रीका रूपमा काम गरिसकेका छन् । यादव पहिले राज्यमन्त्रीको भूमिकामा रहेर सरकार सञ्चालनमा संलग्न थिए । यसअघि पनि उक्त दुवै मन्त्रालय जनमत पार्टीबाटै रहेको थियो । पार्टीले उद्योग तथा पर्यटनमन्त्री सकिलमियाँ अन्सारी र वन तथा वातावरणमन्त्री त्रिभुवन साहलाई फिर्ता बोलाएको थियो ।