अब ट्विटरमा जस्तै टिकटकमा पनि टेक्स्ट पोस्ट गर्न मिल्ने

Yangle News
Yangle News
२०८० साउन १० गते
अब ट्विटरमा जस्तै टिकटकमा पनि टेक्स्ट पोस्ट गर्न मिल्ने

 

चर्चित सामाजिक सञ्जाल टिकटकले पनि माइक्रोब्लगिङ सुविधा सुरु गरेको छ । आफ्नो भिडियो स्ट्रिमिङ सुविधाका लागि चर्चित टिकटकले पछिल्लो अपडेटअनुसार प्रयोगकर्तालाई तस्बिर, शब्दहरू वा भिडियो पोस्टमध्ये के पोस्ट गर्ने भनेर छान्नमिल्ने सुविधा दिनेछ । जुलाई महिनाकै सुरुवातमा चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वको कम्पनीले केही देशमा स्पटिफाइ र एप्पल म्युजिकको प्रतिस्पर्धी प्लाटफर्म टिकटक म्युजिक पनि सार्वजनिक गरेको थियो ।

माइक्रोब्लगिङ अर्थात भिडियो वा तस्बिरबिना शब्द वा वाक्य मात्रै पनि पोस्ट गर्न मिल्नेमा कसलाई उछिन्ने भनेर ट्विटर र नयाँ थ्रेड्सबीच प्रतिस्पर्धा चलिरहँदा अब उनीबिच टिकटक पनि थपिएको छ ।

अहिले एक्स बन्ने क्रममा रहेको ट्विटरमा विश्वकै धनाढ्य मालिक इलन मस्कले एकपछि अर्को परिवर्तन गर्न थालेपछि सामाजिक सञ्जाल क्षेत्रका विभिन्न ठूला कम्पनीहरू ट्विटरका परम्परागत प्रयोगकर्तालाई आफूतर्फ तान्ने प्रयासमा जुटेका छन् । मस्कले दैनिक पढ्न मिल्ने ट्विटको कोटा तोकेकै साता मेटाले प्रतिस्पर्धी थ्रेड्स् एप सार्वजनिक मात्रै गरेन, केही दिनमै दस करोड प्रयोगकर्तासमेत जुटायो ।

सोमबार मस्कले ट्विटरको नयाँ लोगो र पुनर्संरचनाको घोषणा गरेसँगै टिकटक पनि एक विज्ञप्तिमार्फत् माइक्रोब्लगिङका प्रयोगकर्ता आकर्षित गर्ने दौडमा सामेल भएको हो । कतिपय ठूला देशमा प्रतिबन्ध र कानुनी समस्याको सामना गरिरहे पनि टिकटकका एक अर्बभन्दा बढी प्रयोगकर्ता छन् । तीमध्ये औसत ६० करोडले यसलाई दैनिक प्रयोग गर्ने पछिल्ला आँकडाले देखाएका छन् ।

अमेरिका, क्यानडा, अस्ट्रेलियाजस्ता देशमा विभिन्न अड्चनको सामना गर्नुपरे पनि टिकटक अत्यन्तै लोकप्रिय रहेको छ । पछिल्लो तथ्याङ्क अनुसार अमेरिकामा मात्रै सो भिडियो स्ट्रिमिङ एपका १० करोडमाथि, क्यानडामा क्यानडामा ३ करोड र अस्ट्रेलियामा अढाइ करोड प्रयोगकर्ता छन् । आईटी सुरक्षा कम्पनी क्लाउडफेयरको एक सर्भेअनुसार सन् २०२१ मा टिकटकले प्रख्यात सर्च इन्जिन गुगलको भन्दा बढी भिजिटर पाउन सफल भएको थियो ।

259 views