सरकारले चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल दुई हजार आठ सय रुपियाँ ६९ पैसा तोकेको छ । मन्त्रीपरिषद्को हालै बसेको बैठकले अठार प्रतिशत चिस्यान भएको चैते धानको समर्थन मूल्य तोकेको हो ।
अठार प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानको हकमा एक प्रतिशत चिस्यानका लागि प्रतिक्विन्टल एक हजार दुई सय ग्रामका दरले हुन आउने तौल घटाई कायम हुन आउने तौलका आधारमा न्यूनतम समर्थन मूल्य कायम गर्ने निर्णय गरिएको जनाइएको छ ।
सरकारले गत वर्षदेखि चैते धानको समेत न्यूनतम समर्थन मूल्य निर्धारण गर्न थालेको हो । गत आर्थिक वर्ष २०८०/८१ का लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको समर्थनमूल्य प्रतिक्विन्टल दुई हजार ७ सय ७ रुपियाँ २८ पैसा तोकेको थियो । गत आवको तुलनामा चालु आवमा प्रतिक्विन्टलमा ९३ रुपियाँ बढी मूल्य निर्धारण गरेको हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार आव २०८१/८२ मा एक लाख नौ हजार ३ सय ९ हेक्टर क्षेत्रफलमा पाँच लाख ४४ हजार ३ सय ९३ मेट्रिक टन चैते धान उत्पादन भएको छ । यस्तै आव २०८०/८१ एक लाख चार हजार ७१२ हेक्टर क्षेत्रफलमा पाँच लाख २० हजार ८ सय ८, आव २०७९/८० मा एक लाख आठ हजार ६ सय ७ हेक्टर क्षेत्रफलमा पाँच लाख ४० हजार ३ सय ३१ मेट्रिक टन उत्पादन भएको थियो । चैते धानको उत्पादकत्व प्रतिहेक्टर ४ दशमलव ९८ प्रतिशत रहेकामा बर्खे धानको उत्पादकत्व प्रतिहेक्टर ४ दशमलव १९ प्रतिशत छ । पछिल्लो समय चैते धानको क्षेत्रफलसँगै उत्पादन पनि बढ्दै गएको तथ्याङ्कले देखाएको छ ।
चालु आवमा बर्खे र चैते गरेर ५९ लाख ५५ हजार मेट्रिक टन धान उत्पादन भएको छ । मुलुकमा वार्षिक ७० लाख मेट्रिक टन धान आवश्यक पर्नेमा अझै ११ लाख मेट्रिक टन धान अपुग रहेको मन्त्रालयको तथ्याङ्कले देखाएको छ । चैत धानको उत्पादन बढाएर धानमा आत्मनिर्भर बन्न खेती विस्तारमा जोड दिइएको मन्त्रालयले जनाएको छ ।