सर्पको टोकाइबाट कपिलवस्तुमा दुई बालकसहित चार जनाको मृत्यु

Yangle News
Yangle News
२०८० असार २६ गते
सर्पको टोकाइबाट कपिलवस्तुमा दुई बालकसहित चार जनाको मृत्यु

 

सर्पले टोक्दा कपिलवस्तुमा दुई बालकसहित चार जनाको मृत्यु भएको छ । सोमबार राति बुद्धभूमि नगरपालिका १ कपासीमा दाजुभाइको सर्पले डसेर मृत्यु भएको हो । मृत्यु हुनेमा वर्ष १२ का दीपक भुसाल र वर्ष ९ का प्रदीप भुसाल छन् । दुबै जना पारिजात बोर्डिङ स्कुल गोरुसिङेमा अध्ययन गर्दै आएका थिए । हजुरआमासँगै भुइँमा ओछ्यान लगाएर सुतेका उनीहरु बिहान अचेत अवस्थामा देखिएपछि उपचारका लागि स्थानीय मेडिकलमा पुर्याइएको थियो । त्यहाँबाट उपचार सम्भव नभएपछि उनीहरुलाई थप उपचारका लागी लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पुर्याइएको थियो ।

घरबाट पाँच किलोमिटरको दूरीमा सर्पदंश उपचार केन्द्र छ तर सर्पले डसेको शङ्का नै भएन । अरु नै केहि भएको होला भनेर उपचारका लागि बुटवल लगिएको स्थानीय पशुपति शर्माले बताए । सँगै सुतेकी हजुरआमालाई अहिले सर्पदंश उपचार केन्द्र भर्ना गरिएको छ । उनको अवस्था सामान्य रहेको भण्डारीले जानकारी दिए । मृतक बालकहरुका बुवाको केही महिना अगाडि मृत्यु भएको थियो । बुवाको मृत्युपछि आमा वैदेशिक रोजगारीमा रहेका कारण उनीहरु हजुरबुवा र हजुरआमासँगै बस्दै आएका थिए ।

यसैबीच सोमबार सर्पले डसेको थाहा नहुँदा थप दुई महिलाको मत्यु भएको सर्पदंश उपचार केन्द्रले जनाएको छ । मृत्यु हुनेमा महाराजगञ्ज नगरपालिकाका ३१ वर्षीया अनिता यादव र बुद्धभूमि नगरपालिका वडा नम्बर १० धनकौलीका वर्ष १४ की ममता चमार छन् ।  दुबै जनालाई गोमन सर्पले डसेको हुन सक्ने बताइएको छ । सर्पको डसाइले बिरामीमा पेट दुख्ने, थुक निल्न गारो हुने, आँखा खोल्न अप्ठ्यारो हुने, शरीर दुख्ने जस्ता लक्षण देखिने सर्पदंश उपचार केन्द्रमा जानुपर्ने भण्डारीले बताए ।

294 views