स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पालले नेपालको ऊर्जा क्षेत्रमा लगानी भित्र्याउन भारतीय व्यवसायीसँग आग्रह गरेको छ । नयाँदिल्लीस्थित नेपाली दूतावासले आयोजना गरेको ‘द पावर समिट २०२४’ मा नेपालमा अहिले ठुल्ठूला आयोजना अघि बढेकाले भारतीय लगानीकर्ता र व्यवसायीका लागि ठूलो अवसर आएको बताएको इप्पान अध्यक्ष गणेश कार्कीले बताए ।
नेपालको ऊर्जा क्षेत्रमा भारतीय कम्पनीलाई लगानी र व्यापारका लागि सबैभन्दा ठूलो अवसर आएको कार्कीको भनाई छ ।
‘नेपालमा सन् २०३५ सम्ममा २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन लक्ष्यसहित मार्गचित्र तयार भइसकेको छ, यसले भारतीय लगानीकर्तालाई लगानीका लागि ठूलो अवसर निर्माण भएको छ,’ कार्कीले भने, ‘ऊर्जामा उपयोग हुने अधिकांश प्रविधिदेखि मेसिन र उपकरण समेत भारतबाटै आउने हुनाले व्यापार र व्यवसायका लागि पनि ठूलो अवसर सिर्जना हुँदैछ ।’
नेपालमा अहिले करिब ३ हजार मेगावाट विद्युत् उत्पादन हुँदा २ हजार ३ सय मेगावाट निजी क्षेत्रबाट मात्रै उत्पादन भइरहेको छ । ३ हजार ३ सय मेगावाट निर्माणाधीन, ३ हजार ६ सय मेगावाटका आयोजना वित्तीय व्यवस्थापनको पर्खाइमा र १० हजार मेगावाटका आयोजना पीपीएको पर्खाइमा छन् ।
सबै गरी ३० हजार मेगावाट विद्युत् आयोजना विभिन्न चरणमा रहेको बताइएको छ । ऊर्जा उत्पादकहरूको छाता संस्था इप्पानले नेपाल आउने लगानीकर्तालाई सहजीकरण र सहयोग गर्ने कार्कीले बताए ।
अहिले नेपाल र भारतबीच अन्तरदेशीय विद्युत् व्यापार सम्झौता अन्तर्गत १ हजार मेगावाटसम्म विद्युत् आदान प्रदान भइरहेको छ ।
समिटमा नेपाल र भारतका ऊर्जा सम्बन्धित सरकारी तथा निजी क्षेत्रका १ सय ५० भन्दा बढी प्रतिनीधि सहभागी थिए ।