निर्वाचनलक्षित सुरक्षा तयारी तीब्र

Yangle News
Yangle News
२०८२ कार्तिक २ गते
निर्वाचनलक्षित सुरक्षा तयारी तीब्र
राष्ट्रपति पौडेलको आह्वानमा शनिबार बसेको बैठक ।

आसन्न निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन सरकारले सुरक्षा तयारीलाई तीव्र पारेको छ । यही क्रममा आज (आइतबार) गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको बैठक बस्दैछ । बैठकमा गृह र रक्षा सचिवसहित चारवटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरू सहभागी हुनेछन् ।

बैठकमा केन्द्रीय एकीकृत निर्वाचन सुरक्षा समितिले तयार पारेको सुरक्षा योजनाको प्रगतिबारे समीक्षा गरी आवश्यक पृष्ठपोषण र नीतिगत निर्देशन दिने तयारी गरिएको छ ।

यसअघि शनिबार राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शीतलनिवासमा प्रधानमन्त्री पुष्पकमल दाहाल र मन्त्रीहरूको उपस्थितिमा चारवटै सुरक्षा निकायका उपप्रमुखसँग गहन छलफल भएको थियो । छलफल आगामी निर्वाचनका लागि राजनीतिक वातावरण निर्माण र सुरक्षा संयन्त्र सुदृढीकरणमा केन्द्रित रहेको बताइएको छ ।

गृहमन्त्री अर्यालले कार्यभार सम्हालेलगत्तै सहसचिव आनन्द काफ्लेको नेतृत्वमा केन्द्रीय एकीकृत निर्वाचन सुरक्षा समिति गठन गरेका थिए । समितिमा चारवटै सुरक्षा निकायका प्रतिनिधि सदस्य र उपसचिव रवीन्द्र अधिकारी सदस्यसचिव रहेका छन् ।

यो समितिले तयार पारेको एकीकृत सुरक्षा योजना शीघ्रै जिल्लास्तरमा पठाइनेछ । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गठन हुने जिल्ला एकीकृत निर्वाचन सुरक्षा समितिहरूले उक्त योजनाको कार्यान्वयन गर्नेछन् ।

गृहमन्त्री अर्यालले भने, ‘हामी पूर्ण क्षमताका साथ निर्वाचन तयारीमा जुटेका छौं । निर्वाचन आयोगसँग सघन समन्वय भइरहेको छ, सुरक्षा निकायहरूलाई आवश्यक स्रोतसाधनको कुनै कमी नहुने गरी तयारी अघि बढाइरहेका छौं ।’