नेपालमा सञ्चालित छन्, ३० वटा अन्तर्राष्ट्रिय वायु सेवा कम्पनी

Yangle News
Yangle News
२०८० पुस १८ गते
नेपालमा सञ्चालित छन्, ३० वटा अन्तर्राष्ट्रिय वायु सेवा कम्पनी

 

नेपालमा उडान गर्ने अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीको सङ्ख्या ३० पुगेको छ । जसले नेपालबाट १६ देशका ३३ वटा अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडान भइरहेको छ । यस्तै आन्तरिक तर्फ सञ्चालन अनुमति प्राप्त जम्मा २१ वटा वायु सेवा मध्ये हाल क्रियाशील वायुसेवा कम्पनीहरूको सङ्ख्या १९ रहेको छ । जसबाट कुल ५५ वटा विमानस्थल मध्ये ३५ बटा विमानस्थलहरू आन्तरिक हवाई सेवा सञ्जालमा जोडिएका छन्  ।

यसैबीच, पछिल्लो ११ महिनामा आन्तरिक उडानतर्फ ७७ लाख भन्दा बढी यात्रुले हवाई यात्रा गरेका छन् । सन् २०२३ को नोभेम्बरसम्ममा आन्तरिकतर्फ ७७ लाख ९४ हजार २१७ यात्रुले हवाई यात्रा गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

आन्तरिक उडान तर्फ सन् २०२२ को नोभेम्बरसम्म कुल ५६ लाख ६८ हजार ९४१ हवाई यात्रुहरुले यात्रा गरेकोमा सन् २०२३ को नोभेम्बरसम्ममा सो सङ्ख्या बढेर ७७ लाख ९४ हजार २१७ पुगेको हो ।  जस अनुसार गत वर्षको सोही अवधिको तुलनामा यात्रु सङ्ख्यामा करिब ३७.४८ प्रतिशतले वृद्धि भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

यस्तै सन् २०२२ को नोभेम्बरसम्ममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल मार्फत आवागमन गर्ने अन्तर्राष्ट्रिय हवाई यात्रुको सङ्ख्या २९ लाख ४५ हजार ५४० थियो । सन् २०२३ को नोभेम्बरसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल मार्फत आवागमन गर्ने अन्तर्राष्ट्रिय हवाई यात्रुको सङ्ख्या कुल ४१ लाख ५४ हजार ३९३ रहेको छ । जस अनुसार गत वर्षको सोही अवधिको तुलनामा यात्रुको सङ्ख्यामा ४१.०४ प्रतिशतले वृद्धि भएको छ ।