‘आरटी एफसी प्रथम गोल्ड कप-२०२५’ सुरु

Yangle News
Yangle News
२०८२ जेष्ठ २४ गते
‘आरटी एफसी प्रथम गोल्ड कप-२०२५’ सुरु

‘आरटी फुटबल’द्वारा आयोजित ‘आरटी एफसी प्रथम गोल्ड कप-२०२५’ सुरु भएको छ ।

शुक्रबारदेखि सुरु प्रतियोगिताका खेलहरु मलेसियाको सेलाङगर राज्यस्थित पानासोनिक कम्प्लेक्स सुकान नेगरा साआलममा भइरहेका छन् । दुई दिनसम्म चल्ने प्रतियोगितामा १७ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ ।

प्रतियोगिताको उद्घाटन समारोहमा प्रमुख अतिथि मलेसियाका लागि नेपालको राजदूत डा. नेत्रप्रसाद तिम्सिना, गैरआवासीय नेपाली संघ (एनआरएनए)का राकेशप्रसाद महतो, आरसी हरि भट्टराई, आइसीसी सदस्य टेकबहादुर टमटा , नेपाली जनसम्पर्क समितिका प्रवक्ता सरोज दाहाल, दूतावासका प्रथम सचिव बलिराम धामीलगायत विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरु सहभागी थिए । समारोह क्लबका अध्यक्ष राजु तामाङको सभापतित्वमा भएको थियो ।

मलेसियामा रहेका नेपालीबीच खेल र विभिन्न कला-संस्कृतिको क्षेत्रमा सक्ने सहयोग गरिरहेको र भावी दिनमा समेत गर्ने निरन्तरता दिने एनआरएनए अध्यक्ष महतोले बताए । उनले प्रतियोगिता सफलताको कामनासमेत गरे ।

प्रतियोगिताको विजेताले उपाधिसहित २० हजार र दोश्रो हुने टिमले १० हजार रिंगेट प्राप्त गर्नेछ । आयोजकका अनुसार प्रत्येक खेलमा म्यान अफ दि म्याच र प्रतियोगिताका उत्कृष्ट खेलाडी, गोलकिपर, रक्षक तथा सर्वाधिक गोलकर्तालाई समेत नगदद्वारा पुरस्कृत गरिनेछ ।