हर्क साम्पाङद्वारा कोकाहको पानी धरान ल्याउदाको खर्च विवरण सार्वजनिक

Yangle News
Yangle News
२०८० असार २५ गते
हर्क साम्पाङद्वारा कोकाहको पानी धरान ल्याउदाको खर्च विवरण सार्वजनिक

 

धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ) ले कोकाह नदीको पानी धरान ल्याउनका लागि सञ्चालित श्रमदान अभियान अन्तर्गत जुटेको रकम र खर्चको विवरण सार्वजनिक गरेका छन् ।

उनले असार २१ गतेसम्म जुटेको रकम र खर्च भएको हिसाब सार्वजनिक गरेका हुन् । अभियान सञ्चालन हुँदा धरान खानेपानी व्यवस्थापन बोर्ड र विभिन्न दाताहरुबाट नगद र जिन्सी गरेर ७ करोड ४ लाख १८ हजार ६ सय ३२ रुपैयाँ संकलन भएको हिसाब राईले सार्वजनिक गरेका छन् ।

गत फागुन २३ गतेदेखि सुरु भएको कोकाह खानेपानी अभियानको ९८औं दिनमा धरान– २० पकुवामा पानी खसाइएको थियो । ४२ किलोमटिर लामो पाइपलाइनमार्फत कोकाह खोलाबाट ल्याएको पानी हाल विष्णु चोकको ट्यांकीमा झारेर वडा १७ र ११ को केही भागमा वितरण भइरहेको छ । उक्त पानी सुम्निमा ट्यांकी र स्वास्तिका चोकको ट्यांकीसम्म पनि पुर्‍याउन अब ५\५ किलोमिटर पाइप खरिद गरेर बिछ्याउने योजना रहेको बताइएको छ ।

७ करोड ४ लाख १८ हजार ६ सय ३२ रुपैयाँमध्ये विभिन्न दाताहरुबाट ४ करोड ८२ लाख ५२ हजार ३५ रुपैयाँ नगद र १ करोड २० लाख ३८ हजार ७ सय ४ रुपैयाँ बराबरको पाइप प्राप्त भएको थियो ।

कोकाह खानेपानी अभियानका संयोजकसमेत रहेका पूर्व ब्रिटिश गोर्खा सैनिक दत्तकुमार लिम्बुले धरान खानेपानी व्यवस्थापन बोर्डबाट ६६ लाख ५१ हजार २ सय २० रुपैयाँ बराबरको पाइप प्राप्त भएको बताए । उनले भने, ‘बोर्डले दिएको बाहेक अभियानमार्फत पाइप खरिदमा ४ करोड ९४ लाख ५९ हजार ७०१ रुपैयाँ खर्च भएको भएको छ भने इन्धन खर्च ७ लाख १२ हजार ९ सय ९९ रुपैयाँ, भाडा ढुवानीमा २९ लाख ९४ हजार ८ सय ७८ रुपैयाँ, खाना तथा खाजा, पानीमा ५० लाख २४ हजार ५ सय ५८ रुपैयाँ, विषेश प्राविधिक कामदारलाई ज्याला खर्च २७ लाख १ हजार ५२ रुपैयाँ, टोचन तार र भल्व खरिद गर्दा ४२ लाख ९७ हजार ४ सय १० रुपैयाँ खर्च भएको छ ।’

यस्तै अभियानका सदस्य समिर तामाङले ७ लाख ३३ हजार ९ सय ४८ रुपैयाँ पाइप खरिदको भुक्तानी गर्न बाँकी रहेको र मर्मत तथा फिटिङको ३४ हजार ४ सय रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको बताए । मेयर साम्पाङ पछिल्लो समय वृक्षरोपणमा व्यस्त छन् ।

 

347 views