टी-ट्वान्टी अन्तर्राष्ट्रिय शृंखलाको तेस्रो खेलमा मंगलबार नेपालको नजर वेस्ट इन्डिजविरुद्ध ‘क्लिन स्विप’तर्फ हुनेछ । खेल युएईको शारजहाँ क्रिकेट रंगशालामा नेपाली समयअनुसार राति ८:१५ बजे सुरु हुनेछ ।
नेपालले एक खेलअगावै शृखला आफ्नो पक्षमा पारिसकेको छ । नेपालले पहिलोपटक पूर्ण सदस्य राष्ट्र विरुद्धको द्विपक्षीय शृंखला आफ्नो पक्षमा पर्ने ऐतिहासिक उपलब्धि हासिल गरेको हो । नेपाल पहिलो खेलमा १९ र दोस्रो खेलमा सोमबार ९० रनले विजयी भएको थियो ।
रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपाल आसिफ शेख, सन्दीप जोरा, मोहम्मद आदिल आलमजस्ता खेलाडीका साथ मैदान उत्रिनेछ । यता अकिल हुसेनको कप्तानीमा रहेको वेस्ट इन्डिज पनि सात्वना जितको खोजीमा छ । वेस्ट इन्डिज जेसन होल्डर, कायर मायर्स, अकिम अगस्टेजस्ता खेलाडीले साथ दिनेछन् ।