नेकपा एमालेका निलम्बित सांसद लक्ष्मी महतो कोइरीलाई कर्तव्य ज्यानसम्बन्धी मुद्दामा जिल्ला अदालत महोत्तरीले सफाइ दिएको छ । मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्या अभियोग लागेका कोइरीलाई जिल्ला अदालत महोत्तरीले सफाइ दिने निर्णय सुनाएको हो । प्रहरीको फरार सूचीमा रहेका कोइरी प्रतिनिधि सभा सदस्य निर्वाचनमा एमालेको तर्फबाट महोत्तरी–१ बाट निर्वाचित सांसद हुन ।
कोइरीसँगै अर्का अभियुक्त पवन कापरले पनि सफाइ पाएका छन् । न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासमा गत सोमबारदेखि निरन्तर सुनुवाइ भइरहेको मुद्दामा बिहीबार फैसला भएको हो ।
सशस्त्र प्रहरीका असई थमन विकको हत्या गरेको भन्दै सांसद कोइरीसहित २८ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो । लामो समयपछि भएको सुनुवाइपछि जिल्ला अदालतले उनलार्ई हत्या अभियोगबाट सफाइ दिएको छ । २८ जनामध्ये आठजना अभियुक्तलाई भने कर्तव्य ज्यान मुद्दामा जन्मकैद र आगो लगाएको मुद्दामा थप छ महिना कैद सजाय हुने अदालतको फैसलामा उल्लेख छ ।
जन्मकैद सजाय हुनेहरुमा प्रदीप शाह माझी, सञ्जय शाह, मोहन ठाकुर, शंकर शाही, रामशंकर मिश्र, अबिराम शर्मा, सुरेश पाण्डे र धर्मेन्द्र राय छन् ।
जन्मकैद सजाय पाएका मिश्र जलेश्वर नगरपालिकाका पूर्वमेयर हुन् भने अविराम शर्मा मधेश प्रदेश सरकारका पूर्व राज्यमन्त्री तथा मधेश प्रदेश सभा सदस्य हुन । मधेश आन्दोलनका क्रममा २०७२ भदौ २५ गते असई विकको एम्बुलेन्सबाट निकालेर धानबारीमा लगेर हत्या गरिएको थियो ।