आर्मेनिया र अजरबैजानबीच दशकौंदेखि चलिरहेको द्वन्द्व अन्त्य हुने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा दुवै देशबीच शान्ति सम्झौतामा हस्ताक्षर भएको हो ।
शुक्रबार ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्पको उपस्थितिमा दुई देशका नेताहरूबीचको शान्ति सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतापछि अजरबैजानका राष्ट्रपति इल्हाम अलियेभ र आर्मेनियाका प्रधानमन्त्री निकोल पशिन्यानले हात मिलाएका थिए । अमेरिकी राष्ट्रपति ट्रम्पले यो क्षणलाई ऐतिहासिक घटनाको रूपमा वर्णन गरेका छन् ।
यो सम्झौतापछि दुई देशहरूबीचका केही प्रमुख यातायात मार्गहरू पुन: खुल्नेछन् । सम्झौताअनुसार विवादित क्षेत्रमा एउटा ट्रान्जिट कोरिडोर निर्माण गरिनेछ । उक्त करिडोरलाई ‘ट्रम्प रुट फर इन्टरनेशनल पीस एन्ड प्रोसपेरिटी’ नाम दिइने उल्लेख छ । यो कोरिडोरले अजरबैजानलाई उसको नखचिभान एन्क्लेभसँग जोड्नेछ, जसको मार्ग आर्मेनियाबाट हुँदै सुरू हुनेछ ।
सन् १९२० को दशकमा सोभियत संघले आर्मेनिया र अजरबैजानलाई आफ्नो नियन्त्रणमा लिएको थियो । सन् १९८० को दशकको अन्त्यतिर सोभियत शासन कमजोर बन्दै जाँदा १९८८ मा नागोर्नो-काराबाख संसद्ले आर्मेनियासँग एकीकृत हुने निर्णय गर्यो । यसपछि त्यहाँ बसोबास गर्ने अजरबैजानीहरू असन्तुष्ट भए । १९९१ सम्म आइपुग्दा हिंसक झडपहरू तीव्र भए ।
धार्मिक र सांस्कृतिक भिन्नताले दुवै पक्षबीच अविश्वास र द्वन्द्वलाई बढाएको हो । दुवै पक्षले एकअर्काको सांस्कृतिक एवं धार्मिक सम्पदाहरू नष्ट गरेको आरोप लगाउँदै आएका छन् ।