भागेका कैदीबन्दीका कारण समाजमा गम्भीर सुरक्षा चुनौती

Yangle News
Yangle News
२०८२ अशोज ४ गते
भागेका कैदीबन्दीका कारण समाजमा गम्भीर सुरक्षा चुनौती

गत भदौ २३ र २४ गते भएको जेनजीको प्रदर्शनका कारण नेपालका २७ कारागारबाट कैदीबन्दी भागेका छन् । यस्तै, नौवटा बालसुधारगृहबाट पनि कैदीबन्दी भागेका पाइएको छ ।

कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार ती कारागारबाट कुल २९ हजार २१२ मध्ये १३ हजार ५९१ कैदीबन्दी भागेका थिए । यस्तै, एक हजार ४२२ मध्ये ९६४ जना बालसुधारगृहबाट भागेका थिए ।

झुम्का, सोलुखुम्बु, सप्तरी, महोत्तरी, रौतहट, सिन्धुली, नक्खु, जगन्नाथदेवल, डिल्लीबजार, रसुवा, चितवन, तनहुँ, कास्की, पर्वत, कपिलवस्तु, तुलसीपुर, नौबस्ता, रुकुमपूर्व, जुम्ला, बझाङ, कैलाली, दार्चुला, बैतली, डडेलधुरा र कञ्चनपुरबाट कैदीबन्दी भागेका उनले बताए ।

यस्तै, मोरङ, पर्सा, भक्तपुर, मकवानपुर, कास्की, रुपन्देही, जयन्डु, नौबस्ता र डोटी बालसुधारगृहबाट पनि कैदीबन्दी भागेका थिए । निर्देशक न्यौपानेका अनुसार अहिलेसम्म कारागारबाट भागेकामध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित पाँच हजार ४९५ र बालसुधारगृहबाट भागेकामध्ये २४४ कैदीबन्दी फिर्ता आएका छन् ।

अझै आठ हजार ८१६ कैदीबन्दी फरार रहेका र खोजी कार्य जारी रहेको विभागले जनाएको छ । नेपाल प्रहरीको हिरासतमा रहेका कैदीबन्दी फरार रहेका र उनीहरुको पनि खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

कारागार व्यवस्थापन विभागले केही दिन अगाडि एक सूचना जारी गर्दै देशका विभिन्न कारागार कार्यालयहरू तथा बाल सुधार गृहहरूबाट बाहिर निस्किएका बन्दीहरू/बालबिज्याईकर्ताहरू अविलम्ब आफू बसेको कारागार कार्यालय वा बाल सुधारगृह वा नजिकको प्रहरी कार्यालयको सम्पर्कमा आउनुहुन सूचित गरिन्छ। अन्यथा कारागार ऐन, २०७९ र प्रचलित कानुनबमोजिम कारबाही हुने जानकारी गराएको थियो ।

त्यस्ता फरार कैदीबन्दीको कारण दशैंतिहारजस्ता चाडपर्वहरुमा चोरी र लुटपाटका घटना बढ्न सक्ने आंशका प्रहरीले गरेको छ । फरार रहेकाहरुमध्ये कतिपय जघन्य अपराधमा मुछिएकाहरु समेत छन् । यसरी भागेकामध्ये केही पुनः अपराधिक घटनामा संलग्न भई पक्राउसमेत परिसकेका छन् ।

अहिले प्रहरीले पनि टोलीहरू परिचालन गरेर फरार बन्दीहरूलाई पक्राउ गर्न अभियान चलाइरहेको छ । तर अझै पनि ठूलो संख्यामा कैदीबन्दीहरु फरार रहेकाले समाजमा सुरक्षाको दृष्टिले गम्भीर चुनौती खडा भएको प्रहरीले जनाएको छ ।