निर्वाचन क्षेत्र र उम्मेदवार संख्याको आधारमा फरक-फरक मतपत्र, समानुपातिकतर्फ ५८ चुनाव चिह्न

Yangle News
Yangle News
२०८२ माघ १७ गते
निर्वाचन क्षेत्र र उम्मेदवार संख्याको आधारमा फरक-फरक मतपत्र, समानुपातिकतर्फ ५८ चुनाव चिह्न

निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न जिल्ला र निर्वाचन क्षेत्रको मतपत्रको नमूना सार्वजनिक गरेको छ ।

आयोगले सातवटै प्रदेशका क्षेत्रको मतपत्रको नमूना सार्वजनिक गरेको हो । त्यसमा एउटा मात्र निर्वाचन क्षेत्र भएको जिल्लाको एक प्रकारको र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको बेग्लै मतपत्रको नमूनासमेत सार्वजनिक गरेको छ । नमूना मतपत्र मतदाता शिक्षाका लागि प्रयोग हुनेछ ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार उम्मेदवारको संख्याका आधारमा पनि मतपत्रको नमूना तयार पारिएको छ । उम्मेदवार धेरै भएका निर्वाचन क्षेत्रका मतपत्रको आकार तुलनात्मक रूपमा ठूलो र कम उम्मेदवार भएका निर्वाचन क्षेत्रमा सानो मतपत्र छापिएको छ ।

एउटा मात्र निर्वाचन क्षेत्र भएका कर्णाली प्रदेशका सल्यान, डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट र रुकुमपश्चिममा तथा दैलेख र सुर्खेतमा दुईवटा निर्वाचन क्षेत्र छन् । ती जिल्लाको मतपत्रको नमूना पनि आयोगले सार्वजनिक गरेको छ ।

यसैगरी, सुदूरपश्चिम प्रदेशका बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी र डडेलधुरामा एउटा मात्र निर्वाचन क्षेत्र कायम छन् । अछाममा दुई, कञ्चनपुरमा तीन र कैलालीमा पाँच निर्वाचन क्षेत्र छन् । ती सबै निर्वाचन क्षेत्रको मतपत्रको नमूना पनि आयोगले सार्वजनिक गरेको छ ।

समानुपातिक निर्वाचन प्रणालीतर्फका मतपत्रको छपाइ भइसकेको छ । समानुपातिकतर्फ ५८ चुनाव चिह्न सहितको नमूना मतपत्र निर्वाचन आयोगले सार्वजनिक गरेको छ ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन ९३ वटा राजनीतिक दलले नाम दर्ता गराए पनि ६४ वटा दलले मात्रै समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाएका थिए । बन्दसूची पेश गर्ने दलहरूमध्ये ५४ वटा दलले आ-आफ्नै निर्वाचन चिह्न प्रयोग गरी चुनावमा प्रतिस्पर्धा गर्दैछन् । बाँकी १० वटा दलले विभिन्न क्लस्टरमा रही चारवटा साझा निर्वाचन चिह्नमार्फत निर्वाचनमा भाग लिन लागेका हुन् ।

यसअघिका चुनावमा बन्दसूची पेश हुनुअघि नै मतपत्र छपाई हुँदै आएको थियो । जसले गर्दा सबै दलका चुनाव चिह्न मतपत्रमा राखिने गरेको थियो । यसपटक भने समानुपातिक बन्दसूची पेश गरेका दलको चुनाव चिह्न मात्रै राखेर मतपत्रको छपाई गरिएको हो ।