लुम्बिनीमा पर्यटक आउनेक्रम बढेको छ । सन् २०२३ को जनवरीदेखि मेसम्म पाँच महिनाको अवधिमा चार लाख ७० हजार ५ सय ४२ बढी पर्यटकले लुम्बिनी भ्रमण गरेका छन् । सन् २०२२ को जनवरीदेखि मे महिनासम्म तीन लाख ६२ हजार ५६ जनाले लुम्बिनी भ्रमण गरेका थिए । गत वर्षकोभन्दा यस वर्षको सङ्ख्या एक लाख आठ हजार चार सय ८६ ले बढी छ ।
यस पाँच महिनाको अवधिमा नेपाली र भारतीय नागरिक बाहेक थाइल्यान्ड, श्रीलङ्का , म्यान्मार, भियतनाम, कोरियाका नागिरकले बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गरेको लुम्बिनी विकास कोषले जनाएको छ ।
सन् २०२२ को सुरुवाति पाँच महिनामा लुम्बिनी घुम्ने पर्यटकमा विभिन्न ९६ देशका राहदानी बाहक दुई हजार छ सय ८७, नेपाली दुई लाख ८९ हजार पाँच सय ९४ र भारतीयको सङ्ख्या ६९ हजार सात सय ७५ रहेको थियो ।
कोरोनाको अवधि सन् २०२१ मा ६८ देशका एक हजार एक सय ९७ जना राहदानी लिएकाले लुम्बिनी भ्रमण गरेका थिए ।
लुम्बिनी, नेपालको एक महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल हो । यो स्थानलाई बौद्धधर्मको जन्मस्थल मानिन्छ र विश्व सांस्कृतिक धरोहरस्थलको सूचीमा युनेस्कोले समावेश गरेको छ । यहाँ हालका वर्षमा पर्यटक वृद्धिसँगै पर्यटन व्यवसाय पनि वृद्धि भएको लुम्बिनी पर्यटन व्यवसायी सङ्घका अध्यक्ष हुसेनी लोधले बताए ।