निर्वाचनपछि म नै राष्ट्रपति बन्ने पक्कापक्की भइसकेको छैन: झलनाथ खनाल

Yangle News
रासस
२०७९ कार्तिक ३० गते
निर्वाचनपछि म नै राष्ट्रपति बन्ने पक्कापक्की भइसकेको छैन: झलनाथ खनाल

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफू राष्ट्रपति बन्ने पक्कापक्की भइनसकेको बताएका छन्।

इलाम निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार खनालले मङ्गलबार पत्रकारहरूसँग कुरा गर्दै भने, ‘राष्ट्रपति, प्रधानमन्त्री वा अन्य कुनै पदमा किन नहोस् म जिम्मेवारी लिन तयार छु, तर बाहिर चर्चा भएजस्तो निर्वाचनपछि मलाई नै राष्ट्रपति बनाउने भनेर गठबन्धनभित्र सहमति भने भएको छैन।’

उनले निर्वाचनपछि एउटैमात्र दलको सरकार नबन्ने बताए।

‘अब एउटै दलको सरकार त बन्दैन तर गठबन्धनको बहुमत आउने भएकाले सहमतिमा भागबन्डा मिलाउँदा मलाई जुन जिम्मेवारी पर्छ त्यो बहन गर्न तयार छु,’ उनले भने।

आफू ७३ वर्ष पुगे पनि देश विकासका लागि पाँच वर्ष कार्यकारी प्रमुख भएर काम गर्न तयार रहेको उनले बताए।

‘मसँग अनुभव छ, देश बनाउने योजना छ। त्यसैले जुनसुकै पदमा रहेर काम गर्न सक्छु, अझ पाँच वर्ष प्रधानमन्त्री भएर काम गर्न पाएँ भने मुलुकलाई नयाँ मोडमा पुर्‍याउँछु,’ उनले भने।

इलाम क्षेत्र नम्बर १ मा सोचेजस्तो विकास हुन बाँकी रहेको खनालको भनाइ छ।

‘लामो समयदेखि मैले प्रयास गर्दा पनि अपूरो रहेको काम गर्न यहाँका जनताले पुनः एकपटक मलाई निर्वाचित गराउनुहुनेछ। भएका काम धेरै छन्, हुन बाँकी पनि छन् त्यो अभिभारा पूरा गर्न जनादेश लिएर जाँदैछु,’ उनले भने।

305 views