एमसीसी अनुदानमा बन्ने प्रसारण लाइनको ठेक्का सम्झौता तयारी

Yangle News
Yangle News
२०८२ साउन २८ गते
एमसीसी अनुदानमा बन्ने प्रसारण लाइनको ठेक्का सम्झौता तयारी

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को अनुदान सहयोगमा बन्ने दुई खण्डको ठेक्कामा बिहीबार सम्झौता हुने भएको छ । दुई खण्डको कुल लागत १५ करोड ४५ लाख १० हजार अमेरिकी डलर रहेको छ ।

एमसीसीअन्तर्गत निर्माण हुने २९७ किलोमिटर ४०० केभी डबल सर्किट प्रसारण लाइनमध्येको दुई खण्ड निर्माणका लागि बिहीबार ठेक्का सम्झौताको तयारी रहेको एमसीए नेपालले जनाएको छ । रत्माटे-नयाँ दमौली प्रसारण लाइन निर्माणका लागि एन्जेलिक-स्किपर जेभीसँग सात करोड ७४ लाख ८० हजार अमेरिकी डलरमा ठेक्का सम्झौता हुन लागेको हो ।

त्यसैगरी नयाँ दमौली-नयाँ बुटवल प्रसारण लाइन निर्माण गर्न नेपाली निर्माण कम्पनी वाइबा-सलासार जेभीसँग सात करोड ७० लाख ३० हजार अमेरिकी डलरमा सम्झौता हुन लागेको एमसीएले जनाएको छ । यी दुई खण्ड २९७ किलोमिटर लामो प्रसारण लाइनका दुई लटअन्तर्गत पर्छन् ।

सम्झौता हस्ताक्षर कार्यक्रम साउन बिहीबार (साउन २९ गते) हुने एमसीएले जनाएको छ । एमसीए-नेपालका अनुसार, यो सम्झौताले नेपालमा विद्युत् प्रसारण पूर्वाधार सुदृढीकरणमा महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ ।