शनिबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडानहरू अवरुद्ध भए । जसका कारण काठमाडौं आउने र जाने अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानहरू प्रभावित भएका थिए ।
विमानस्थल बन्द भएपछि त्रिभुवन विमानस्थलमा अवतरण हुन लागेका आन्तरिक र अन्तर्राष्ट्रिय गरी तीनवटा जहाज डाइभर्ट गरिएको थियो । उडान प्रभावित हुँदा सयौं यात्रु अलपत्र परेका थिए । उडान अवरुद्ध भएका विषयमा विमानस्थल प्रशासनले सूचना नै जारी र माइकिङसमेत गरेको थियो ।
बुद्ध एयरको जनकपुरबाट आएको जहाज जनकपुर नै डाइभर्ट भएको थियो भने बुद्ध एयरकै सुर्खेतबाट आएको जहाज पोखरा डाइभर्ट गरिएको थियो । त्यस्तै, कोरियन एयरको जहाज दिल्ली डाइभर्ट गरिएको थियो । केही विमान आकाशमै होल्ड भएका थिए ।
बन्द विमानस्थल करिब चार घन्टापछि सञ्चालनमा आएको थियो । एयरफिल्ड लाइटिङ सिस्टममा प्राविधिक समस्या आएपछि सेवा अवरुद्ध हुन पुगेको विमानस्थल प्रशासनले जनाएको छ ।
‘एयरफिल्ड लाइटिङ सिस्टम’मा प्राविधिक समस्या आएपछि शनिबार साँझ साढे ५ बजेदेखि आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान र अवतरण बन्द गरिएको थियो । विमानस्थल प्रशासनका अनुसार प्राविधिक टोलीले उक्त समस्या समाधान गरेपछि शनिबार बेलुका ९:४० बजेबाट सबै उडान सञ्चालनमा आएको हो ।
एयरफिल्ड लाइटिङ सिस्टममा भएको समस्या पत्ता लगाउन प्राविधिकहरुले प्रत्येक पोलमा परीक्षण गरेका थिए । समस्या पत्ता लगाएर समाधान गरेलगत्तै उडान सुचारु गरिएको विमानस्थलले जनाएको छ ।
रातिको समयमा विमानस्थलको धावनमार्गमा जहाज उडान तथा अवतरणका लागि उज्यालो बनाउने बत्तीलाई ‘एयर फिल्ड लाइटिङ’ भनिन्छ । त्रिभुवन विमानस्थलको धावनमार्गको चौडाइ ४५ मिटर र लम्बाइ ३३ सय ५० मिटर छ । दुवै किनारामा सेतो रङका बत्ती बल्छन् । तर, ‘सर्ट सर्किट’का कारण हिजो यी बत्ती नबलेपछि समस्या आएको थियो ।