सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाका तीन ठाउँमा पहिरो जाँदा अरनिको राजमार्ग पूर्ण रुपमा बन्द भएको छ । इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक जगतबहादुर राईका अनुसार भोटेकोसी–२ को कोदारी, वडा नं ३ को लार्चा र वडा नं २ कै कोप्लाङमा पहिरो गएको छ ।
पहिरो पन्छाउने काम जारी रहेकाले राजमार्ग पूर्ण रुपमै बन्द भएको छ । सडक भाँसिदा तातोपानी नाका हुँदै सञ्चालन हुने कन्टेनर ढुवानी रोकिएको उनले बताए । यसैबीच लगातारको अविरल वर्षासँगै भोटेकोसी–२ को लिपिङ बजारमा पहिरो जाँदा तीन घरमा क्षति पुगेको छ । पहिरोका कारण स्थानीय पदम श्रेष्ठ, फूलमाया तामाङ र सुनिता श्रेष्ठको घरमा क्षति पुगेको प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए ।
बुधबार छिमेकी चीनको स्वशासित तिब्बत क्षेत्रमा सात दिनसम्म भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमानपछि चिनियाँ अधिकारीहरूले नेपाली पक्षलाई सतर्क रहन सन्देश पठाएका छन् । प्रजिअ थापाकाअनुसार जाङ्मु पोर्टस्थित अध्यागमन कार्यालयमार्फत नेपालतर्फका सुरक्षा निकायहरू सशस्त्र प्रहरी, अध्यागमन कार्यालय कोदारी र भोटेकोशी गाउँपालिकालाई मौखिक रूपमा सूचित गरिएको छ । न्यालम क्षेत्रमा वर्षा सुरु भइसकेको सूचना आएको र सिन्धुपाल्चोकका भोटेकोशीको लिपिङदेखि चौतारा साँगाचोकगढीको सिम्लेसम्मका बस्तीहरूलाई सूचित गरेको उनले बताए ।
त्यस्तै काभ्रे जिल्लाका सहयक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले पनि सूचना जारी गरी पाँचखाल नगरपालिका तथा भुम्लु, चौरी, तेमाल र रोशी गाउँपालिकाका तटीय क्षेत्रका बस्ती जोखिममा पर्न सक्ने भन्दै सतर्कता अपनाउन भनिएको छ ।