सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात, घरबाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह

Yangle News
Yangle News
२०७९ माघ १० गते
सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात, घरबाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह

बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा हिमपात भएको छ । बैतडीको खोडपे, अनारखाली, ढोल्यामोड र सिगासलगायतका उच्च लेकाली स्थानमा हिमपात भएको जनाइएको छ ।

सिगासका किसान दानसिंह बोहराका अनुसार गए रातिदेखि मौसममा बदली आएसँगै आज बिहानदेखि हिमपात भएको हो । वर्षा र हिमपातका कारण चिसो बढेको छ । चिसोका कारण जनजीवन प्रभावित भएको छ । चिसोले बालबालिका, दैनिक ज्याला मजदुरी गर्ने, वृद्ध वृद्धा बढी प्रभावित भएका छन् । चिसोबाट बच्न न्यानो लुगा लगाउन, झोलिलो कुरा सेवन गर्न, घरबाहिर ननिस्कन आग्रह गरिएको छ ।

यसैबीच वर्षा र हिमपातले किसान भने हर्षित भएका छन् । खडेरीका कारण हिउँदे बाली सुक्न लागेको बेला वर्षा र हिमपातले बालीनाली सप्रिने भन्दै खुसी भएका हुन् । लामो समयपछि वर्षा भएकाले हिउँदे बाली र फलफूल सप्रिने आशा पलाएको किसान बोहराले बताए। रासस