प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको लिग चरण पूरा भएको छ । यससँगै जय ट्रफी खेल्ने ६ वटै टिमको समेत टुंगो लागेको छ ।
जय ट्रफीमा प्रधानमन्त्री कपका शीर्ष ६ टिम छनोट हुने प्रावधान छ । नेपाल क्रिकेट संघ (क्यान)ले गत चैत्र २६ गते प्रतियोगिताका चार शीर्ष टिम छनोट हुने प्रावधान परिमार्जित गर्दै ६ टिमसम्म पुर्याएको थियो ।
आगामी संस्करणको जय ट्रफी खेल्ने टिमहरूमा विभागीय टिम त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब, नेपाल पुलिस क्लब, सुदूरपश्चिम प्रदेश, मधेस प्रदेश र लुम्बिनी प्रदेश रहेका छन् ।
समूह चरणमा अपराजित आर्मी १७ अंकका साथ शीर्ष स्थानमा रह्यो । ९१ खेल सम्पन्न हुँदा आर्मीले नौ खेलमा आठ जित हासिल गरेको थियो । टोलीको एक खेल भने रद्द भएको थियो । सुदूरपश्चिम १२ अंकका साथ दोस्रो स्थानमा रह्यो । यी दुई टोलीबीच उपाधिका लागि शुक्रबार प्रतिस्पर्धा हुनेछ ।
तेस्रो स्थानको एपीएफले ११ अंक बनाएको थियो । समान अंक जोडे पनि रन रेटले पछि पर्दा मधेस चौथो स्थानमा सीमित भयो । पुलिस र लुम्बिनीले समान नौ अंक बनाए पनि रट रेटका आधारमा पाँचौं र छैटौं स्थानमा सीमित रहे ।
आजै सम्पन्न अन्तिम तथा निर्णायक खेलमा मधेस प्रदेशले विभागीय टिम पुलिसलाई चार विकेटले पराजित गर्दै जय ट्रफीमा स्थान बनाएको हो । तालिकाको चौथो शीर्ष टोलीको रूपमा जय ट्रफीमा स्थान बनाएको मधेसलाई उक्त खेलमा जित्नै पर्ने दबाब थियो । हारका बाबजुद पुलिसले भने पाँचौँ शीर्ष टोलीको रूपमा जय ट्रफीमा स्थान सुरक्षित गरेको छ ।
कोसी प्रदेश भने प्रतियोगिताको एक मात्र जितविहीन टोली बन्यो । कोसीले नौ खेल खेल्दा आठ खेलमा हार व्यहोर्यो । कोसीको एक खेल रद्द भएको थियो ।