युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलाडीहरुको भविष्य सुनिश्चित हुनेगरी सरकारले खेलकुद नीति ल्याएको बताएका छन् ।
शुक्रवार राष्ट्रियसभामा उठेका प्रश्नहरुको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । उनले खेलाडीहरुको हक र सुविधाको कार्यान्वयनका लागि राष्ट्रिय खेलकुद नीति, २०६७ संशोधन गरी मन्त्रिपरिषदमा पुगेको बताए । उनले खेललाई व्यावसायिक बनाउन निजी क्षेत्रको सहभागितामा प्रायोजनको व्यवस्थाका लागि सरकारले काम गरिरहेको बताए ।
खेलाडीको खेल अवधि निश्चित उमेर हुने भएकाले खेल जीवन सकिएपछि सरकारी र विभिन्न संस्थाहरुमा रोजगारी वा निवृत्तिभरण दिने व्यवस्था नयाँ नीतिमा रहेको उनको भनाइ छ । ‘राष्ट्रिय खेलकुद नीति २०६७ लाई संशोधन गर्ने नीति मन्त्रिपरिषदमा पुगेको छ । जसमा खेलाडीहरुको हक, सुविधा र खेलकुद कार्यान्वयनका लागि समावेश गरिएको छ । युवा तथा खेलकुद मन्त्रालयले प्रस्तावित खेलकुद नीतिको मस्यौदा अघि बढेको छ, जसले खेलाडीहरुको भविष्य स्वदेशमै सुनिश्चित हुनेछ‚’ उनले भने, ‘खेल क्षेत्रलाई व्यावसायिक बनाउन निजी क्षेत्रलाई सहभागी बनाउने, स्पोन्सरसिपको अवसर सिर्जना गर्ने, क्लब फुटबल र लिग संरचना सुधार गर्ने योजनाहरु छन् । खेल जीवन सकिएपछि सरकारी तथा अन्य संस्थामा रोजगारी उपलब्ध गराउने नीति लिएको छ ।’
मन्त्री चौधरीले खेलकुद मन्त्रालयमा बहुवर्षीय योजनाका कार्यक्रम नभएको बताए । खेलकुदका माध्यमबाट जीविकोपार्जन गर्न नसकिएपछि खेलाडीहरु खेल क्षेत्र छोडेर वैकल्पिक पेशामा लागेको र कतिपय खेलाडी विदेश पलायन भइरहेको उनको भनाइ छ ।