लेबनानस्थित संयुक्त राष्ट्रसंघीय युनिफिल मिसनमा तैनाथ शान्ति सैनिकमाथि आक्रमण भएको छ । आक्रमण एकजना शान्ति सैनिक मारिएका छन् भने तीनजना घाइते भएका छन् ।
लेबनानमा मारिएका संयुक्त राष्ट्रसंघीय शान्ति सैनिक आफ्ना नागरिक भएको इन्डोनेसियाले बताएको छ । इन्डोनेसियाको विदेश मन्त्रालयले घाइतेहरू सबै चारैजना आफ्ना नागरिक भएको पनि पुष्टि गरेको छ ।
यो घटना दक्षिणी लेबनानको एडचिट अल कुषायर नजिकैको शान्ति सैनिकको पोष्टमा भएको हो । यस क्षेत्रमा इजरायली सेना र इरान समर्थित हिज्बुल्लाहबीच केही महिनादेखि चलिरहेको संघर्षले शान्ति सैनिकहरूको सुरक्षा जोखिममा पारेको छ ।
संयुक्त राष्ट्रसंघले घटनासम्बन्धी अनुसन्धान सुरु गरिएको बताएको छ । ‘शान्तिको लागि सेवा गर्ने कोही पनि जीवन गुमाउनु हुँदैन,’ संयुक्त राष्ट्रसंघले भनेको छ । यसैबीच, महासचिव एन्टिनियो गुटेररेसले घटनाको कडा निन्दा गर्दै शान्ति सैनिकहरूको सुरक्षा सुनिश्चित गर्न तत्काल उपाय आवश्यक रहेको उल्लेख गरेका छन् ।
लेबनानको दक्षिणी सिमानामा पर्ने एडचिट अल कुषायर क्षेत्रमा गत महिनादेखि इजरायली सेना र हिज्बुल्लाह लडाकूबीच तीव्र जुद्ध भइरहेको छ । इजरायली अधिकारीहरूले सिमानाबाट ३० किलोमिटरभित्र सुरक्षा क्षेत्र स्थापना गर्ने योजना बनाएका छन् ।
मध्यपूर्वको यो तनाव मार्चको सुरुदेखि बढेको हो, जब इरान समर्थित हिज्बुल्लाहले इजरायलमा रकेट आक्रमण गरेको थियो । उक्त आक्रमण अमेरिकी र इजरायली आक्रमणको पहिलो दिन इरानका सर्वोच्च नेता अली खामेनीको हत्यापछि भएको थियो । यस क्रममा इजरायली हवाई हमलाले लेबनानका धेरै क्षेत्रहरूमा क्षति पुर्याएको छ ।