इंग्ल्यान्ड समूह विजेता बन्दै नकआउटमा

Yangle News
Yangle News
२०७९ मंसिर १४ गते
इंग्ल्यान्ड समूह विजेता बन्दै नकआउटमा

फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह बी बाट इंग्ल्यान्ड समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।

मंगलबार अहमद बिन अली रंगशालामा वेल्सलाई ३-० ले हराउँदै इंग्ल्यान्ड समूहको शीर्ष स्थानमा रह्यो ।

इंग्ल्यान्डका लागि वेल्सविरुद्ध मार्कस रासफर्डले २ र फिल फोडेनले १ गोेल गरे । दुवै खेलाडी यसै खेलमा सुरुवाती रोजाइमा अटाएका थिए । पहिलो हाफमा गोल निस्कन नसकेपनि इंग्ल्यान्डले दोस्रो हाफको सुरुवातमै दुई गोल गर्दै खेलमा पकड बनाएको थियो ।

खेलको ५० अ‍ौं मिनेटमा रासफर्डले फ्रिकिकमा सिधै गोल गरेका थिए । उनले २५ यार्ड टाढाबाट प्रहार गरेको फ्रिकिक गोलरक्षक ड्यानी वार्डले बचाउन सकेनन् । अघिल्लो खेलमा पहिलो रोजाइका वायन हेनेसीले रातो कार्ड खाएपछि वार्डले खेल सुरुवात गरेका थिए ।

सुरुवाती अग्रता लिएको दुई मिनेटपछि नै इंग्ल्यान्डले दोस्रो गोल थप्यो । ह्यारी केनले दायाँ विंगबाट दिएको लो क्रसमा अनमार्क रहेका फिल फोडेनले फार पोस्टबाट गोल गर्दै स्कोर २-० बनाए ।

६८ अ‍ौं मिनेटमा राफर्डले व्यक्तिगत दोस्रो गोल गरे । काल्भिन फिलिप्सको लामो पासलाई पेनाल्टी क्षेत्रभित्र लग्दै उनले गोल गरे । दुई डिफेन्डरको बीचबाट उनले गरेको प्रहार गोलरक्षक वार्डलाई लाग्दै गोल भएको थियो ।

प्रि–क्वार्टरफाइनलमा समूह ‘ए’को उपविजेता सेनेगलसँग भेट निश्चित गरेको इङ्ल्यान्डले पहिलो खेलमा इरानलाई ६–२ को नतिजामा पराजित गरेको थियो। दोस्रो खेलमा अमेरिकासँग बराबरी र तेस्रो खेलमा जितसहित सात अंक जोड्दै इङ्ल्यान्ड अन्तिम १६ मा पुगेको हो।