आगामी मंगलवार र बुधवार बुटवलमा रोजगार मेला (जब फेयर) हुने भएको छ । उद्योग प्रतिष्ठानको आवश्यकता अनुसार दक्ष जनशक्ति उत्पादन तथा आपूर्ति गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासङ्घ र बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीको आयोजनामा रोजगार मेला गर्न लागिएको हो ।
अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) को सहयोगमा आयोजना गर्न लागिएको मेलामा ३० बढी उद्योग प्रतिष्ठानको सहभागिता रहने छ ।
आप्रवासीहरूको सीप अभिवृद्धि परियोजना अन्तर्गत स्वदेशमै कामको खोजीमा रहेका तथा वैदेशिक रोजगारबाट फिर्ता भएका युवाहरू र रोजगारदाताबिच सम्पर्क गरी रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यले मेला आयोजना हुन लागेको बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले बताए ।
मेलाले स्थानीय उद्योग व्यवसायको लागि आवश्यक दक्ष श्रमिकको आपूर्तिका साथै सीपयुक्त जनशक्ति प्राप्तिमा सहयोगी हुने र रोजगार योग्य जनशक्तिलाई सीप अनुसारको रोजगार प्राप्त गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।