काठमाडौं । नेपाल टेलिकमले आउँदो माघ २२ देखि फाइभजी परीक्षण थाल्ने भएको छ । टेलिकमको १९औं वार्षिकोत्सवका अवसरमा सर्वसाधारणका लागि काठमाडौंका केही स्थानमा फाइभजी परीक्षणको सुरुवात गर्न लागिएको हो।
यसअन्तर्गत भिभो, ह्वावे, साओमी, सामसङ लगायत ब्रान्डका फाइभजी स्मार्टफोनमा यो सेवाको परीक्षण हुने बताइएको छ।
फाइभजी मोबाइल सेटहरू पहिचान गरी ती सेटमा टेस्ट गरेपछि मात्रै ट्रायल सुरु गर्न लागिएको बताइएकाे छ । कम्पनीले फाइभजी सेवाका लागि आवश्यक सिस्टम स्थापना र त्यसको परीक्षण यसअघि नै सम्पन्न गरिसकेको छ ।
परीक्षण सेवा अवधिभर टेलिकमका ग्राहकले निःशुल्क फाइभजी अनुभव लिन पाउने बताइएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले परीक्षणका लागि २६०० मेगाहर्ज ब्याण्ड अन्तर्गत ६० मेगाहर्ज फ्रिक्वेन्सी उपलब्ध गराएको छ । यही फ्रिक्वेन्सीबाट परीक्षण थालिने छ । परीक्षणबाट पत्ता लागेका कुरालाई अघि बढाउँदै त्यसबाट व्यावसायिक प्रयोजनबाट सुरु गर्ने योजना रहेको नेपाल टेलिकमले जनाएको छ ।
काठमाडौंमा फाइभजी सेवाको आन्तरिक परीक्षण सेवा दिएपछि थप तीन प्रदेशमा पनि टेलिकमले फाइभजी परीक्षण गर्ने योजना ल्याएको छ ।