कालीगण्डकी प्रसारण लाइन असारभित्र सम्पन्न नभए ३ सय मेगावाट बिजुली खेर जाने

Yangle News
Yangle News
२०८० बैशाख २८ गते
कालीगण्डकी प्रसारण लाइन असारभित्र सम्पन्न नभए ३ सय मेगावाट बिजुली खेर जाने

कालीगण्डकी करिडोर प्रसारण लाइन आयोजनाको निर्माण आगामी असारभित्र सम्पन्न नभएमा ३ सय मेगावाट विद्युत् खेर जाने भएको छ । २२० केभीको कालिगण्डकी करिडोर आसपास निर्माण भएका आयोजनाहरुको करिब ३०० मेगावाट विद्युत् यसै प्रसारणलाइनमा जोड्नेगरी अहिले काम भइरहेको छ ।

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सम्बद्ध पक्षलाई असारभित्रै आयोजना सम्पन्न गर्नेगरी सहजीकरण गरिदिन आग्रह गरेका छन् । घिसिङले रुपन्देहीको पाल्पा, देवदह र नवलपरासीमा निर्माणाधीन प्रसारण लाइन निर्माणस्थलको अनुगमन भ्रमण गरी असारभित्र सम्पन्न गर्न सम्बद्ध निकायलाई आग्रह गरेका हुन ।

आयोजनाको पहिलो खण्डमा खुर्कोटमा २२० \ १३२ केभी र दानामा २२०\१३२\३३ केभी सबस्टेसन निर्माण सम्पन्न भइसकेका छन् । दोस्रो खण्डअन्तर्गत कुश्माबाट नयाँ बुटवल सबस्टेसनसम्म ८८ किलोमिटर प्रसारण लाइन निर्माण अन्तिम चरणमा छ । यस खण्डको निर्माण आगामी असारभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको प्राधिकरणले जनाएको छ ।

कालीगण्डकी र यसका सहायक नदीहरुमा निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत् प्रवाहका लागि नेपाल सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा कालीगण्डकी करिडोर प्रसारण लाइनको निर्माण सुरु गरिएको हो । प्रसारण लाइनबाट करिब १ हजार २ सय मेगावाट विद्युत् प्रवाह गर्न सकिन्छ ।

303 views