पूर्वराजाहरुले प्रयोग गरेको पोखराको रत्न मन्दिर आजदेखि सबैका लागि खुला गरिएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले गणतन्त्र दिवसको दिन फेवाताल किनारमा रहेको रत्न मन्दिर सर्वसाधारणका लागि समेत खुला गरेका हुन् ।
रत्न मन्दिर पूर्वराजपरिवारका सदस्य पोखरा आउँदा बसोबास गर्ने ठाउँ हो । वि.सं २०१३ मा तत्कालीन राजा महेन्द्रले यहाँ आउँदा बस्न मिल्ने गरी रानी रत्नको नामबाट दरबार निर्माण गरेका थिए । सो दरबार पछि राजा वीरेन्द्रको नाममा आएको थियो ।
गणतन्त्र स्थापनापछि राजा वीरेन्द्र र राजपरिवारको नाममा भएका सम्पूर्ण सम्पत्ति नेपाल ट्रष्टको नाममा ल्याउने सरकारी निर्णयपछि १ सय ११ रोपनी क्षेत्रफलमा फैलिएको यो मन्दिर हाल ट्रष्टको स्वामित्वमा छ ।
गणतन्त्र स्थापना भएको १५ वर्षपछि खुला भएको रत्न मन्दिरमा अवलोकनका लागि टिकटको व्यवस्था गरिने नेपाल ट्रष्टले जनाएको छ । मुख्य राजदरबारमा फोटो खिच्न बन्देज लगाइएको दरबारमा आज पहिलो दिन भने निःशुल्क अवलोकनको व्यवस्था मिलाइएको छ ।