राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार (वैशाख १६) मुलुकका विभिन्न भागमा तीव्र गतिको हावाहुरी चल्ने जानकारी दिएको छ ।
विभागले कोसी प्रदेशका मोरङसहित आसपासका जिल्ला, मधेस प्रदेशका धनुषा र बारासहित आसपासका जिल्ला, लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ र अर्घाखाँचीसहित आसपासका जिल्ला र सुदूरपश्चिम प्रदेशका डडेलधुरा र डोटीसहित आसपासका जिल्लामा तीव्र गतिको हावारी चल्ने सम्भावना रहेको जानकारी दिएको छ ।
विभागका अनुसार यी स्थानमा बुधबार साँझ ५:४५ बजे हुरी सुरु भई १७ गते बिहान ७:४५ बजेसम्म रहने अनुमान गरिएको जनाएको छ । त्यस्तै मेघ गर्जन/चट्याङ/हावाहुरी/असिनासहित पानी पर्ने प्रणाली प्रणाली क्रमशः पश्चिमदेखि पूर्वतिर सर्दै जाने सम्भावना रहेको पनि जनाएको छ ।
तीव्र हावाहुरिका कारण रुख ढल्ने, कमजोर संरचना ढल्ने, छाना उड्ने, विद्युत् तथा सञ्चार सेवा प्रभावित हुने जोखिम रहने पनि विभागले जनाएको छ । यसबाट जोगिन विभागले सातबुँदे आग्रह गरेको छ ।
यसका साथै जल तथा मौसम विज्ञान विभागबाट जारी हुने मौसमसम्बन्धी पूर्वानुमान र प्राधिकरणबाट जारी हुने सूचना नियमित जानकारीमा राखी सतर्कता अपनाउन पनि विभागले आग्रह गरेको छ ।