पोखरामा आयोजना हुने साफ अन्डर नाइन्टिन महिला च्याम्पियनसिपको खेलतालिका आज सार्वजनिक भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ)का अनुसार च्याम्पियनसिपमा ४ राष्ट्रले भाग लिनेछन् ।
यही जनवरी ३१ देखि फेब्रुअरी ७ सम्म पोखरा रंगशालामा हुने साफ यु-१९ महिला च्याम्पियनसिपमा आयोजक नेपालसहित भारत, बंगलादेश र भुटानको सहभागिता रहनेछ । च्याम्पियनसिपका खेलहरु सिंगल राउण्ड रोविनका आधारमा हुनेछ । राउण्ड रोविनको खेलपछि शीर्ष दुई स्थानमा रहने टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
समूह चरणका खेलहरु जनवरी ३१, फेब्रुअरी २ र ४ मा हुने तालिका छ । हरेक दिन दुई खेल दिउँसो १२ र ३ बजे सुरु हुनेछ । फाइनल भने फेब्रुअरी ७ मा दिउँसो २ बजे सुरु हुने साफले जनाएको छ । प्रतियोगितामा नेपालले पहिलो दिनको दोश्रो खेलमा भारतसँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरुवात गर्नेछ । त्यसपछि, भुटान र बंगलादेशसँग नेपालले समूह चरणका खेल खेल्नेछ ।
प्रतियोगिताका लागि नेपालले तयारी गरिरहेको छ । सुरुवाती चरणमा बोलाइएका खेलाडीहरुमध्ये हाल ३५ जना प्रशिक्षणमा रहेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मुख्य प्रशिक्षकमा सुमन श्रेष्ठ र गोलकिपिङ प्रशिक्षकमा राजुसिंह महर्जनलाई जिम्मेवारी दिएको छ । त्यस्तै अनु लामा र राजु तामाङ सहायक प्रशिक्षकमा नियुक्त भएका छन् ।