संयुक्त राष्ट्रसंघका मानवअधिकार उच्चायुक्त भोल्कर टर्कले बुधबार गाजा क्षेत्रमा इजरायलले विस्तार गर्न लागेको सैन्य कारबाहीप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् । उक्त योजना प्यालिस्टिनीहरूको गाजामा निरन्तर अस्तित्वमै खतरा ल्याउने दिशामा उन्मुख रहेको उनको चेतावनी छ ।
इजरायली सेनाले गाजामा सैन्य कारबाही विस्तार गर्न लाखौं आरक्षित सेनालाई बोलाएको छ । एक इजरायली अधिकारीका अनुसार यो योजना प्यालिस्टिनी क्षेत्रको ‘पूरा अधिग्रहण’ मा आधारित छ ।
टर्कले भने, ‘इजरायलले गाजाका बासिन्दाहरूलाई बलपूर्वक दक्षिणी क्षेत्रको सानो भागमा सार्ने योजना र गाजाबाहिर निष्कासन गर्ने धम्कीहरूले यस कुरा प्रष्ट पार्छ कि इजरायलको कार्यले प्यालिस्टिनीहरूलाई त्यहाँ बाँच्नै नसक्ने अवस्था सिर्जना गर्दै छ ।’
उनले थपे, ‘एक वर्ष आठ महिनादेखि चलिरहेका सैन्य रणनीतिले कुनै स्थायी समाधान ल्याएको छैन । बन्धकको रिहाइ पनि सम्भव भएको छैन । त्यसैले यही रणनीति दोहोर्याएर अब समाधान हुने विश्वास गर्न कुनै आधार छैन ।’
टर्कले चेतावनी दिँदै भने, ‘गाजामा हमला विस्तार गर्दा थप विस्थापन, निर्दोष नागरिकहरूको मृत्यु र घाइते हुने संख्या वृद्धि, साथै बाँकी रहेको आधारभूत संरचनाको विनाश हुने निश्चितजस्तै छ ।’
हामासको सन् २०२३ अक्टोबर ७ को आक्रमणबाट सुरु भएको यस युद्धमा गाजाको २४ लाख जनसंख्याको अधिकांश कम्तीमा एकपटक विस्थापित भइसकेको छ । करिब दुई महिनादेखि इजरायलले गाजामा सबै प्रकारको मानवीय सहायता प्रवेशमा प्रतिबन्ध लगाएको छ, जसले संकटलाई झनै चर्काएको छ ।
‘गाजाका बासिन्दाहरूलाई खानाजस्ता जीवनरक्षक सामग्रीबाट वञ्चित गरिएको छ । सामुदायिक भान्छाघरहरू र न्युनतम कानुनी व्यवस्था कायम राख्न खोज्नेहरूमाथि समेत निरन्तर आक्रमण भइरहेको छ,’ टर्कले भने, ‘नागरिक जनतालाई भोकमरीमा राख्नु युद्धको एक माध्यमका रूपमा प्रयोग गरिनु अन्तर्राष्ट्रिय कानुनअनुसार युद्ध अपराध हो । यस संकटको दीर्घकालीन समाधान अन्तर्राष्ट्रिय मान्यताको पूर्ण पालनामार्फत मात्र सम्भव छ ।’
हामासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार, इजरायलले मार्च महिनाको मध्यदेखि पुनः सुरु गरेको आक्रमणमा कम्तीमा दुई हजार ५०७ जनाको मृत्यु भइसकेको छ । यससँगै यो युद्धमा हालसम्म कुल मृतक संख्या ५२ हजार ६१५ पुगेको छ ।
हामासको सन् २०२३ को आक्रमणमा इजरायली पक्षमा एक हजार २१८ जनाको मृत्यु भएको थियो, जसमा अधिकांश सर्वसाधारण थिए । त्यही दिन अपहरण गरिएका २५१ जनामध्ये ५८ जना अझै गाजामा छन्, जसमा ३४ जनाको मृत्यु भइसकेको इजरायली सेनाले जनाएको छ ।