वाणिज्य बैंकहरुले असोज महिनाका लागि नयाँ ब्याजदरको सूचना प्रकाशित गरेका छन् । प्रकाशित सुचना अनुसार बैंकको ब्याजदर भदौको तुलनामा असोजमा घटेको छ ।
भदौ महिनामा ५.५७७ प्रतिशतविन्दु रहेको वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औषत ब्याजदर, असोजमा घटेर ५.४६३५ प्रतिशतविन्दुमा झरेको छ । समीक्षा अवधिमा बैंकहरुको यस्तो ब्याजदर ०.११ प्रतिशतविन्दु घटेको हो ।
२० वाणिज्य बैंकहरुमध्ये ९ वाणिज्य बैंकले ब्याजदर घटाएसँगै व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औषत ब्याजदर घट्न पुगेको हो । भदौ महिनाको तुलनामा असोज महिनाका लागि प्राइम कमर्सियल बैंक, सानिमा बैंक र एभरेष्ट बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ०.५ प्रतिशतविन्दु घटाएको हो । त्यस्तै, सिटिजन्स बैंक र एनआईसी एशिया बैंकले ०.२५ प्रतिशतविन्दु घटाएको छ भने कुमारी बैंकले ०.२ प्रतिशतविन्दु घटाएको छ ।
असोज महिनाका लागि दुई बैंकले भने व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर बढाएका छन् । भदौको तुलनामा लक्ष्मी सनराइज बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकले असोजमा ब्याजदर बढाएका हुन् । यी दुई बैंकले क्रमश ०.२५ प्रतिशतविन्दु र ०.०५ प्रतिशतविन्दुले ब्याजदर बढाएका हुन् । बाँकी ९ बैंकहरुले भने भदौ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।
असोज महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा सबैभन्दा कम ब्याज दिने बैंक भने कुमारी बैंक रहेको छ । सो बैंकले अधिकतममा ५.०१ प्रतिशतका दरले ब्याज दिनेछ । व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर भने ६ प्रतिशत रहेको छ । एनआईसी एशिया, माछापुच्छ्रे, ग्लोबल आइएमई, एनएमबि र हिमालयन बैंकले असोज महिनामा सो दरमा ब्याज दिनेछन् ।
बैंकको संस्थापक मुद्दति निक्षेपको अधिकतम औषत ब्याजदर समीक्षा अवधिमा ०.०८८५ प्रतिशतविन्दु घटेको छ । ७ वाणिज्य बैंकहरुले ब्याजदर घटाउँदा औषत ब्याजदर घट्न पुगेको हो । १३ बैंकले भने भदौ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।