कांग्रेस संस्थापन र विशेष महाधिवेशन पक्षबीच वार्ता जारी

Yangle News
Yangle News
२०८२ पुस २९ गते
कांग्रेस संस्थापन र विशेष महाधिवेशन पक्षबीच वार्ता जारी
फाइल तस्बिर ।

नेपाली कांग्रेसको संस्थापन र विशेष महाधिवेशन पक्षबीच वार्ता जारी छ । संस्थापन पक्षले विशेष महाधिवेशन गरिरहेको महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको टोलीसँग बालुवाटारमा वार्ता गरिरहेको हो ।

वार्तामा सभापति शेरबहादुर देउवा पक्षबाट रमेश लेखक, बालकृष्ण खाँण र शेखर कोइराला पक्षबाट जीवन परियार र मिनेन्द्र रिजाल सहभागी छन् । विशेष महाधिवेशन पक्षबाट प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे सहभागी छन् ।

दुई पक्षबीच वार्ता शुरु भएपछि पार्टीको केन्द्रीय कार्यसमिति बैठक सरेको छ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बोलाइएको कार्यसमिति बैठक दिउसो १ बजे बस्ने गरी सरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका छन् । बैठकमा विशेष महाधिवेशन पक्षधर केन्द्रीय सहभागी नहुने भएको छ ।

उता, भृकुटीमण्डपमा विशेष महाधिवेशनको बन्दसत्र जारी छ । विशेष महाधिवेशनमा निर्वाचन समिति गठन गरिएको छ । ​डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए)का अध्यक्ष वरिष्ठ अधिवक्ता सीताराम केसीको अध्यक्षतामा विशेष महाधिवेशन हलले निर्वाचन समिति गठन गरेको हो ।

समितिमा डीएलएका अध्यक्ष केसीसँगै वरिष्ठ अधिवक्ता अशोक पोखरेल, अधिवक्ता गोकर्ण बञ्जाडे, आरसी विमल पौडेल र रामचन्द्र गौतम सदस्य रहेको कांग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतमले जानकारी दिइन् ।