नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार सावित्रा भण्डारी ‘साम्बा’ न्युजिल्याण्डको वेलिंगटन फिनिक्स फुटबल क्लबमा आवद्ध भएकी छन् ।
साम्बाले सन् २०२५-२६ सिजनका लागि अष्ट्रेलियाको ‘ए’ लिग खेल्ने क्लब वेलिंगटनसँग अनुबन्ध गरेकी हुन् । वेलिंगटन न्युजिल्याण्डको क्लब भए पनि यसले अष्ट्रेलियाको शीर्ष डिभिजन लिग खेल्दै आएको छ ।
फ्रान्सको एन अभान्ट ग्वेंगाम्पबाट २ सिजन खेलेपछि साम्बाले अष्ट्रेलियाको लिगमा खेल्ने निर्णय लिएकी हुन् । उनले त्यसअघि इजरायलको हापोएल रानानाबाट पनि खेलेकी थिइन् । उनले दक्षिण एसियामा भारत र माल्दिभ्समा पनि खेलिसकेकी छन् ।
साम्बाले गत महिना सम्पन्न एएफसी एसियन कप छनोटमा राष्ट्रिय टोलीको कप्तानी पनि गरेकी थिइन् । तर अन्तिम तथा निर्णायक खेलमा उज्वेकिस्तानसँग पेनाल्टीमा हार्दा नेपाल एसियन कपमा भने छनोट हुन सकेन ।
यता, नेपालमा भने उनी विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँग आवद्ध छिन् । उनले न्युजिल्यान्ड चाडै प्रस्थान गर्ने बताएकी छन् ।