उपसभामुख इन्दिरा राना मगरलाई हटाउनका लागि कांग्रेस र एमालेले सांसदहरुको हस्ताक्षर संकलन गरेको छ । दुवै दलका सांसदहरुलाई छुट्टाछुट्टै दलको कार्यालयमा बोलाएर खाली कागजमा हस्ताक्षर गर्न लगाइएको हो ।
अहिले बिहान १० बजेदेखि नै उनीहरुलाई दलको कार्यालय बोलाएर हस्ताक्षर गराइएको छ । पहिले उपसभामुखलाई राजीनामाका लागि आग्रह गर्ने नमाने महाभियोग दर्ताको तयारी गरिएको छ । राना मगरले अमेरिकी भिसाका लागि लेटरप्याडमा निवेदन लेखेर मानव तस्करी गरेको आरोप लागेको छ ।
महाभियोग लगाउन संसद्को दुईतिहाइ मत आवश्यक पर्छ । यो भनेको २ सय ७२ सदस्यीय प्रतिनिधिसभामा १ सय ८४ मत आवश्यक पर्छ । तर अहिले सरकारसँग त्यति मत छैन । सरकारसँग कांग्रेसका ८८, एमालेका ७८, जसपाका ७ र लोसपाका ४ सांसद पक्षमा छन् ।
नेपाली कांग्रेसले सबै दलसँग छलफल गरेर उपसभामुखविरुद्ध अविश्वासको प्रस्ताव अघि बढाउने दाबी गरेको छ । कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले आवश्यकताअनुरूप विशेष प्रयोजनको लागि हस्ताक्षर संकलन गरिएको दाबी गरेका हुन् । उनले प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगरविरुद्धको अविश्वासको प्रस्तावमाथि कुनै छलफल नभएको दावी गरे ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधिसभाका उपसभामुखलाई हटाउने कार्यको विरोध गर्ने बताएका छन् । मंगलबार पार्टी कार्यालय पेरिसडाडाँमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले उपसभामुखलाई हटाउन खोजेर कांग्रेस-एमालेले गल्ति गर्न लागेको भन्दै माओवादीले विरोध गर्ने बताएका छन् ।
यसैबीच अध्यक्ष दाहालले विपक्षी दलहरुको बैठक बोलाएका छन् ।