एकरुपताका लागि ‘विपद् पूर्वकार्य कार्यढाँचा’ बनाउँदै प्राधिकरण

Yangle News
Yangle News
२०८२ साउन १५ गते
एकरुपताका लागि ‘विपद् पूर्वकार्य कार्यढाँचा’ बनाउँदै प्राधिकरण

राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन प्रभावमा आधारित ‘विपद् पूर्वकार्य कार्यढाँचा’ बनाउने कार्य शुरु गरेको छ ।

प्राधिकरण विपद् व्यवस्थापनमा काम गरिरहेका संघसंस्था समेतको सहभागितामा कार्यढाँचा बनाउने कार्यमा जुटेको हो । विहीवार विपद् पूर्वकार्यढाँचा निर्माणसम्बन्धी कार्यशालाको उद्घाटन गर्दै प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले सरोकारवालाहरुको सल्लाह सुझावसहित आएको ‘पूर्वकार्य कार्याढाँचा’माथि थप छलफल गरेर अन्तिम रुप दिने जानकारी दिए ।

प्राधिकरणका सहसचिव अर्जुनकुमार बमले सबैका लागि पूर्वसूचना प्रणालीअन्तर्गत पुनःस्थापना सम्मको काम गर्दै आएको भए पनि क्षति न्यूनीकरण हुन नसकेका कारण विपदमा काम गर्ने सबैका लागि साझा कार्यढाँचा बनाउन लागिएको स्पष्ट पारे । विपद् व्यवस्थापनका लागि चुनौती भएका स्थानहरुमा काम गर्न आवश्यक रहेकाले एकरुपताका लागि पूर्वकार्य कार्यढाँचा आवश्यक रहेको उनको भनाइ छ ।

कार्यक्रममा प्राधिकरणका उपसचिव राजेन्द्र शर्माले कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेका थिए । कार्यशालामार्फत विपद् पूर्वानुमानपछि गरिने विपद् पूर्वकार्यमा एकरुपता ल्याउनका लागि प्राधिकरणले कार्यढाँचा बनाउन लागेको हो । अहिले पनि स्थानीय सरकार र सरोकारवालाहरुले विपद्को पूर्वसूचना आउनेवित्तिकै माइकिङ गरेर सर्वसाधरणलाई जानकारी गराउने, डुबानमा पर्नसक्ने जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्ने लगायत काम भइरहेको भए पनि स्पष्ट कार्यढाँचा नभएकाले विपद् पूर्वकार्य प्रभावकारी बन्न नसकेको अवस्थामा प्राधिकरणले साझा कार्यढाँचा बनाउन लागेको हो ।

तीन दिनसम्म विभिन्न ९ वटा मोडलमाथि छलफल गरी आवश्यकताका आधारमा कार्यहरुलाई थपघट गरी नेपालका लागि उपयुक्त कार्यढाँचा बनाइने बताइएको छ । कार्यढाँचामा विपद् सतर्कता, खतरा, खतरामाथि के गर्ने भन्नेलगायत अवस्थामा गर्ने कार्य तय गरिनेछ । विभिन्न विपदबाट हुने मानवीय क्षति र भौतिक क्षति न्यूनीकरण गर्ने उद्देश्यका साथ विपद् पूर्वानुमान पछिको पूर्वतयारीको कार्यढाँचा बनाउन लागिएको हो ।

नेपालमा सन् २०२१ पछि प्रभावमा आधारित पूर्वसूचना प्रणालाी लगायतमा काम भएको पाइन्छ ।