नेपाल क्रिकेट संघ (क्यान)ले दुई ठूला घरेलु क्रिकेट प्रतियोगिताको तालिका सार्वजनिक गरेको छ । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आगामी ७ चैतदेखि ४ वैशाखसम्म मधेश प्रदेशको पर्सा र जनकपुरमा हुने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो। तालिकाअनुसार सुरुवाती केही खेल काठमाडौंस्थित त्रिवि क्रिकेट मैदान र मुलपानीमा पनि हुनेछ । फाइनलसहित अधिकांश खेलहरू भने मधेश प्रदेशमै हुनेछन् । प्रतियोगिताको पहिलो दिन जनकपुरमा कोशी र मधेश तथा पर्सामा लुम्बिनी र कर्णाली प्रदेश प्रतिस्पर्धा गर्नेछन् ।
यसैगरी, निर्वाचन र लिग-२ क्रिकेटका कारण सरेको जय ट्रफीको फाइनलको पुन: नयाँ मिति तय भएको छ । लिग-२ क्रिकेट स्थगित भएपछि जय ट्रफीको फाइनल अगाडि सारिएको हो । अब फाइनल ३ देखि ५ चैतसम्म माथिल्लो मुलपानी क्रिकेट मैदानमा हुनेछ । यसअघि १७ देखि १९ फागुनसम्मलाई तय भएको फाइनल पछाडि सरेर २१ देखि २३ चैतसम्म खेलाइने तय थियो ।
दुईदिवसिय प्रतियोगिताको फाइनल भने तीनदिवसिय ढाँचामा हुनेछ । फागुन १५ मा नै सकिएको प्रतियोगिताको फाइनलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब उपाधिका लागि भिड्नेछन् । गत संस्करणको प्रधानमन्त्री कपको शीर्ष ४ मा रहेका पुलिस, आर्मी, नेपाल एपिएफ क्लब र बागमती प्रदेश प्रतियोगितामा सहभागी रहेका थिए ।
गत संस्करणको फाइनलमा पनि पुलिस र आर्मीबीच नै खेल भएको थियो । आर्मीलाई हराउँदै पुलिसले उपाधि जितेको थियो ।