महिलाहरूको नेतृत्वमा सञ्चालित गैरसरकारी संस्थाहरूको राष्ट्रिय महिला सञ्जाल संस्था, बियोण्ड बेइजिङ्ग कमिटी (बिबिसी) नेपालले विभिन्न देशका लागि नियक्त तीन जना राजदूतहरुलाई अभिनन्दन गरको छ । आज काठमाडौँमा एक कार्यक्रम गरी बिबिसीले वहाँहरुलाई अभिनन्दन गरेको हो । कार्यक्रममा बोल्दै अष्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवले आफ्नो कार्यकालभर नेपाली जनताको आसा र अपेक्षा अनुरुप सबैको हितमा काम गर्ने बताउनुभयो । नेपालको पर्यटन र साँस्कृतिक क्षेत्रको प्रबर्द्धनमा काम गर्ने प्रतिबद्धता वहाँले जनाउनुभयो ।
दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत प्रा.डा. कपिलमान श्रेष्ठले आफूहरु फरक पृष्ठभूमिबाट आएकोले पनि धेरैको अपेक्षा रहेको र काम गरेर देखाउनै पर्ने चुनौति रहेको बताउनुभयो । वहाँले काम नगरी फर्कने सुविधा आफूलाई नभएको बताउनुभयो ।
यस्तै डेनमार्कका लागि नेपाली राजदूत सुम्निमा तुलाधरले डेनमार्कसँगै युरोपका अन्य देशहरु पनि आफ्नो कार्यक्षेत्रमा पर्ने भएकाले सकेसम्म त्यहाँको नेपाली डायस्पोराको विषयहरु अध्ययन गरेर काम गर्ने बताउनुभयो । वहाँले डेनमार्क र नेपालको कुटनीतिक सम्बन्ध विस्तारमा भूमिका खेल्ने पनि प्रतिबद्धता जनाउनुभएको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा यादव मंसिर ९, श्रेष्ठ मंसिर २८ र तुलाधर यहि पौष ७ गते आवासिय राजदूत नियुक्त हुनुभएको थियो ।
अभिनन्दन कार्यक्रममा सांसद तथा बिबिसीका पूर्व अध्यक्ष शुसिला श्रेष्ठले विश्वले नेपाललाई युवा विदेश पठाउने देशको रुपमा चिन्न थालेकाले यो परिचयलाई परिवर्तन गर्न सबैले काम गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा महिला अधिकारकर्मी, अभियान्ता तथा सञ्चारकर्मीहरुको उपस्थिति थियो ।