ट्रम्पको ‘प्रोजेक्ट फ्रिडम’ मिसन स्थगित, कच्चा तेलको मूल्यमा लगातार गिरावट

Yangle News
Yangle News
२०८३ बैशाख २३ गते
ट्रम्पको ‘प्रोजेक्ट फ्रिडम’ मिसन स्थगित, कच्चा तेलको मूल्यमा लगातार गिरावट

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘प्रोजेक्ट फ्रिडम’ अस्थायी रूपमा स्थगित गरिएको बताएका छन् । उनले यो मिसन छोटो अवधिका लागि रोकिएको जानकारी दिएका छन् ।

राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’मा पोस्ट गर्दै इरानसँगको सम्झौतालाई अन्तिम रूप दिन यस्तो निर्णय गर्नुपरेको बताएका हुन् । ट्रम्पले लेखेका छन्, ‘सोमबारदेखि सुरु भएको ‘प्रोजेक्ट फ्रिडम’ आपसी सहमतिमा रोकिएको छ, किनकि इरानसँगको सम्झौतामा ठूलो प्रगति भएको छ ।’

ट्रम्पले होर्मुज जलमार्ग क्षेत्रमा फसेका वा रोकिएका जहाजहरूलाई अमेरिकी सेनाको सुरक्षामा बाहिर निकाल्ने उद्देश्यसहित ‘प्रोजेक्ट फ्रिडम’ योजना सोमबार घोषणा गरेका थिए । तर, इरानी सरकारी सञ्चारमाध्यमहरूले भने यो स्थगनलाई विश्वव्यापी ढुवानीका लागि महत्वपूर्ण मानिने होर्मुज जलमार्ग पुनः सञ्चालनमा ल्याउने प्रयासमा अमेरिकाको निरन्तर असफलतापछि ट्रम्प पछि हट्न बाध्य भएको संकेतका रूपमा व्याख्या गरेका छन् ।

मिसन रोकिए पनि ट्रम्पले इरानी बन्दरगाहहरूमा लगाइएको अमेरिकी नौसैनिक नाकाबन्दी भने जारी रहने स्पष्ट पारेका छन् । अमेरिकी राष्ट्रपतिको यो घोषणा विदेशमन्त्री मार्को रुबियोले इरानविरुद्ध गरिएको प्रारम्भिक अमेरिकी-इजरायली सैन्य अभियान ‘अपरेसन एपिक फ्युरी’ले आफ्नो उद्देश्य पूरा गरिसकेको बताएपछि जनाइएको छ । रुबियोले मंगलबार पत्रकारहरूसँग भनेका थिए, ‘हामी शान्तिको मार्गलाई प्राथमिकता दिन्छौं । राष्ट्रपतिले सम्झौता चाहनुभएको छ ।’

यससँगै विश्व बजारमा कच्चा तेलको मूल्यमा लगातार दोस्रो दिन पनि गिरावट आएको छ । मध्यपूर्वी क्षेत्रबाट तेलको आपूर्ति पुनः सुचारु हुने अपेक्षाका बिच बुधबार तेलको मूल्य ओरालो लागेको हो । बुधबार जुलाईका लागि ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल १.५२ डलर अर्थात् १.३८ प्रतिशतले घटेर १०८.३५ डलर कायम भएको छ ।

अघिल्लो कारोबार सत्रमा यसको मूल्यमा ४ प्रतिशतको गिरावट आएको थियो । त्यस्तै, अमेरिकी बेन्चमार्क वेस्ट टेक्सस इन्टरमिडिएट (डब्लूटीआई)को जुन महिनाको मूल्य पनि १.५० डलर अर्थात् १.४७ प्रतिशतले घटेर प्रतिब्यारेल १००.७७ डलरमा झरेको छ, जुन अघिल्लो दिन ३.९ प्रतिशतले घटेर बन्द भएको थियो ।