पूर्वमन्त्री सुदन किराँती श्रम संस्कृति पार्टीमा समाहित हुने भएका छन् । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को अध्यक्ष परिषदबाट राजीनामा दिएका किराँती आफ्नो समूहसहित श्रम संस्कृति पार्टीमा भित्रिन हुन लागेका हुन् ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र सुदनले गएराति एकताको सहमति गरेका हुन् । सुदन श्रम संस्कृतिको वरिष्ठ नेता बन्नेछन् । उनको समूहले एक सचिवसहित १५ केन्द्रीय सदस्य पाउने सहमति जुटेको श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले जानकारी दिए ।
उनलाई पार्टीमा स्वागत गर्नका लागि काठमाडौंको हार्दिक होटलमा कार्यक्रम राखिएको श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले जानकारी दिए । चुनावपछि किराँती श्रम संस्कृतिसँग लगातार छलफलमा थिए ।
त्यसअघि तत्कालीन नेकपा (माओवादी केन्द्र)मा रहेका उनी विभिन्न घटकहरू मिलेर नेपाली कम्युनिस्ट पार्टी गठन भएपछि त्यसमा अनुसन्तुष्टि जनाउँदै जनार्दन शर्मासँगै पार्टीबाट बाहिरिएका थिए ।